जनयुद्धलाई अपमान गर्ने प्रतिक्रान्तिका प्रयासविरुद्ध फेरि एउटा संघर्ष आवश्यक : प्रचण्ड
काठमाडौं । पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिक्रान्तिका हर्कतहरु भइरहेको उल्लेख गर्दै यसविरुद्ध फेरि एउटा संघर्ष आवश्यक भएको बताएका छन् ।
आइतबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित सहिदद्वय सुरेश वाग्ले ‘बासु’ र भीमसेन पोख्रेल ‘वैरागी’को २५औं स्मृति दिवसलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले जनताको बलिदान र अधिकारविरुद्ध भइरहेको प्रतिक्रान्तिका प्रयासका विरुद्ध संघर्ष गर्नुपर्ने स्थिति सिर्जना भएको बताएका हुन् ।
माओवादी आन्दोलन र क्रान्तिका उपलब्धिलाई उल्ट्याउन निकै कसरत भइरहेको उल्लेख गर्दै उनले अहिले क्रान्तिकै बलमा स्थापित व्यवस्थाको उपभोग गरेकाहरुले नै बढी क्रान्ति र क्रान्तिकारी आन्दोलनको अपमान गर्ने प्रयास गरिरहेको बताए ।
उहाँले भन्नुभयाे,‘हामीले गरेको परिवर्तनकारी र बलिदानीपूर्ण जनयुद्धलाई संविधानमा जनताको सशस्त्र संघर्ष र त्यसको ब्याख्यात्मक टिप्पणीमा माओवादी जनयुद्ध भनेर लेखेका छौं । तर, जसको मुख्य कारण देशमा संघीय लोकतान्त्रिक गणतन्त्र आयो, त्यही व्यवस्थामा बसेर जनयुद्धलाई नै अपमान गर्ने काम भइरहेको छ । त्यसका विरुद्ध संघर्षको संकल्प गर्नुको नै सहिदहरुप्रतिको सच्चा श्रद्धाञ्जली हुनेछ ।
हामीले जनयुद्धमा हुँदा र १२ बुँदे समझदारी गर्दा नै भनेका थियौं । गणतन्त्र त अब आउँछ नै, तर यसलाई दलाल पूँजीपति र नोकरशाहीहरुले आफ्नो विशेषताको बुर्जुवा गणतन्त्र बनाउने प्रयास गर्नेछन् भने हामीले जनताको गणतन्त्र बनाउने कोशिस गर्नेछौं । त्यहाँनेर गएर फेरि अर्को संघर्ष हुन्छ भनेका थियौं, अब राजनीतिक त्यतै जाँदैछ । दलाल पूँजीपति र नोकरशाहीहरुसँग संघर्ष सुरु भएको छ । जनतालाई साथमा लिएर फेरि एउटा संघर्ष अघि बढाउनैपर्छ ।’
नेपाली मौलिकतामा पूजीवादी जनवादी क्रान्ति सफल भएपछि अब समाजवादी क्रान्तिमा अघि बढ्दा दलाल पूँजीपति, नोकरशाही वर्ग र सामन्ती अवशेषका विरुद्ध संघर्ष अपरिहार्य रहेको भनाइ उहाँको छ ।
उहाँले जनयुद्ध सुरु हुनअघि भएको रामवृक्ष यादवको बलिदानले देशभरिका युवालाई क्रान्तिमा लाग्न उत्प्रेरित गरेको र त्यसपछिका सबै सहादतहरुले क्रान्तिकारीहरुलाई प्रतिशोधको भावनासहित अघि बढाउन सहयोग गरेको बताउनुभयाे ।