९ मंसिर २०८१, आईतवार
  • हाम्रो बारेमा
  • विज्ञापन

मिडियाले भ्रम फैलाए, जसपाले सरकारको नेतृत्व गर्दैन – लक्ष्मणलाल कर्ण

प्रकाशित मिति :  ३१ चैत्र २०७७, मंगलवार ०९:२२


.

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का नेता लक्ष्मणलाल कर्णले तत्काल सरकारको नेतृत्व जसपाले नगर्ने बताउनुभएको छ ।

पार्टी पदाधिकारी बैठकले सरकारको नेतृत्व गर्ने विषयमा ठोस निर्णय नगरेको कर्णले जानकारी दिनुभयो । केही सञ्चार माध्यमले जसपाले आफ्नै नेतृत्वमा सरकार बनाउँदैछ भनेर हल्ला चलाएका भन्दै उहाँले त्यसमा सत्यता नभएको बताउनुभयो ।
‘जसपाले आफ्नै नेतृत्वमा सरकार बनाउने भनेर केही मिडियाले अफवाह फैलाएका छन्, तर बैठकले त्यस्तो कुनै निर्णय गरेको छैन’– कर्णको भनाइ छ ।

कांग्रेसको प्रस्ताव, लगायत विषयमा छलफल गर्न सोमबार र मंगलबार जसपा पदाधिकारी बैठक बसेको हो ।

सत्ता सहकार्यका लागि भन्दै चैत २७ गते नेपाली कांग्रेस, माओवादी केन्द्र र जसपाको बैठक बसेको थियो । सो बैठकमा जसपाकै नेतृत्वमा गठबन्धन सरकार बनाउने प्रस्ताव कांग्रेसले राखेको थियो । जसपाले यसबारे बैठक बसेपछि मात्र निर्णय लिने बताएको थियो ।

तर बैठकले कांग्रेसलाई समर्थन दिने या नदिने भनेर कुनै निर्णय नगरेको कर्णले जानकारी दिनुभयो । जसपाले ठोस निर्णय नलिँदा प्रतिपक्षी दलको गठवन्धनमा सरकार बन्ने बिषय थप पेचिलो बनेको छ ।

सरकारले तीन बुँदे माग सम्बोधन नगरेसम्म कुनै पनि कसैलाई पनि समर्थन नगरिने कर्णले जानकारी दिनुभयो । ‘कांग्रेसले गठबन्धनको लागि हामीलाई बोलाएको हो तर हाम्रो बैठकले त्यससम्बन्धी कुनै निर्णय निकालेको छैन, हामीले त्यस्तो कुनैपनि निर्णय गरेका छैनौं ।’

आफूहरुका माग पूरा गरे केपी ओली अर्थात एमालेलाई नै समर्थन गर्ने जसपाले बताउँदै आइरहेको छ । ओलीबाहेक कांग्रेस र माओवादीको विश्वास गर्न नसकिने समेत जसपाले बताउँदै आएको छ ।

जसपा अध्यक्ष महन्थ ठाकुर, लक्ष्मणलाल कर्ण लगायत नेता केपी ओलीको पक्षमा हुनुहुन्छ । उपेन्द्र यादव र बाबुराम भटट्राई पक्षका नेताहरुले भने ओलीलाई समर्थन नगर्ने बताउँदै आइरहनु भएको छ ।

-आईएनए न्युज एजेन्सी


0
Shares

प्रतिक्रिया दिनुहोस !