माओवादी केन्द्रद्वारा उपसभामुखबाट कमजाेरी भएकाे ठहर
काठमाडाैं । नेकपा माओवादी केन्द्रले उपसभामुख इन्दिरा रानाबाट कमजाेरी भएकाे ठहर गरेकाे छ ।
शुक्रबार बसेकाे माओवादी संसदीय दलकाे बैठकले उपसभामुखबाट कमजाेरी भएकाे ठहर गरेकाे हाे । प्राविधिक रुपमा उपसभामुखबाट कमजाेरी भएकाे तर साे विषयलाई अहिले एकाएक रुपमा चर्चामा ल्याइएकाे माओवादी प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिनुभयाे ।
उपसभामुखबाट पदीय दुरुपयाेग भएपनि हटाउन खाेजिए माओवादीले प्रतिवाद गर्ने पनि उहाँले बताउनुभयाे । यसअघि साे विषयवस्तु आउँदा त्यति बढी चर्चा नगरिएकाे तर संवैधानिक परिषद्मा बहुमत पुर्याउनका लागि एकाएक चर्चामा ल्याइएकाे प्रमुख सचेतक पाण्डेले बताउनुभयाे । ‘प्राविधिक रुपमा उपसभामुखले विषयवस्तु जसरी राख्नुपर्ने हाे त्यहाँ केही कमजाेरी भएकै लाग्छ हामीलाई पनि, सम्मानित ठाउँमा बसेको व्यक्तिले लेटरहेड प्रयोग गर्दा विचार पुर्याउनैपर्ने थियो, तर समग्र विषयवस्तुलाई हेर्दा पहिले चर्चा भयाे र सेलायाे, अहिले संवैधानिक परिषद्सँग सम्बन्धित, यतिमात्र हाेइन महिला, दलित, जनताति, मधेशी, मुस्लिमका बारेमा संविधानकाे जुन भाव छ त्याे विषयवस्तुलाई हेरेर जसरी कुरा उठाइएकाे छ त्याे एकदम बेठिक छ, उपसभामुखलाई हटाउने भन्ने कुनै विषयवस्तु आए भने हामी त्यसलाई प्रतिवाद गरेर जान्छाैं’- उहाँले भन्नुभयाे ।