राष्ट्रपतिकाे नजरमा नयाँ नक्सा र शान्तिवार्ता २०७७ को महत्वपूर्ण सफलता
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले वर्ष २०७७ राजनीतिक, सामाजिक र आर्थिक विकासका दृष्टिले उपलब्धिपूर्ण रहेको बताउनुभएको छ ।
नयाँ वर्ष २०७८ का अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपालीमा शुभकामना सन्देश दिँदै राष्ट्रपति भण्डारीले नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको राजनीतिक नक्सासहितको निशाना छाप परिवर्तनका लागि संविधान संशोधन गर्न सम्पूर्ण राजनीतिक दलहरूबीचमा मतैक्य कायम हुनु, केही राजनीतिक समूह सशस्त्र विद्रोहको बाटो परित्याग गरी शान्तिपूर्ण मार्गमा आउनु महत्वपूर्ण राजनीतिक उपलब्धि भएको उल्लेख गर्नुभएको हो ।
उहाँले संयुक्त राष्ट्रसंघद्वारा नेपाललाई अतिकम विकसित राष्ट्रको सूचीबाट विकासशील राष्ट्रमा स्तरोन्नतिका लागि सिफारिस गरिनु, विश्व खुशी प्रतिवेदन–२०२१ मा नेपाललाई दक्षिण एशियाको सबैभन्दा खुशी मुलुकको रूपमा उल्लेख गरिनु, कोभिड–१९ महामारीविरुद्ध सरकारले अवलम्बन गरेको प्रभावकारी प्रतिकार्य रणनीतिका कारण मृत्युदरलाई अन्य मुलुकको तुलनामा न्यून राख्न सफल हुनु, समयमै कोरोनाविरुद्धको खोप अभियानको थालनी हुनुजस्ता कार्य सकारात्मक उपलब्धि भएको जनाउनुभयो ।
उहाँले कोरोना कहरको बीचमै रानीपोखरी, दरबार हाईस्कूललगायत भूकम्पबाट क्षतिग्रस्त भएका ऐतिहासिक संरचनाको पुनःनिर्माण सम्पन्न हुनुका साथै चिर प्रतिक्षित मेलम्ची खानेपानी आयोजनाबाट काठमाडौंमा पानी वितरण सुरु गरिनुलाई ०७७ सालका उल्लेखनीय सामाजिक आर्थिक उपलब्धिको रूपमा लिन सकिने पनि जनाउनुभयो ।
राष्ट्रपतिको सन्देशमा भनिएको छ, ‘समयरूपी नदी निरन्तर बगिरहेको छ । समयको प्रवाहलाई कसैले रोक्न सक्दैन । जुन राष्ट्रले अमूल्य समयको अधिक उपयोग गर्न सके, ती राष्ट्रले सामाजिक आर्थिक विकासका शिखर चुमेका छन् । हामीले पनि समयको महत्वलाई आत्मसात् गर्दै पूर्वाधार विकासको प्रक्रियामा तीव्रतम रूपमा अगाडि बढ्नु पर्दछ ।’
– रासस