२ कार्तिक २०८१, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

साना डिजिटल कारोबार निःशुल्क गर्ने विषयमा छलफल गर्दैछु : प्रधानमन्त्री ओली

प्रकाशित मिति :  ३० भाद्र २०८१, आईतवार १०:०५


काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले डिजिटल कारोबार निःशुल्क गर्ने विषयमा छलफल गरिने बताउनुभएकाे छ ।

साना डिजिटल कारोबार गर्दा निशुल्क गर्ने विषयमा आफूले सम्बन्धित अधिकारीसँग छलफल गर्न लागेकाे प्रधानमन्त्री ओलीले आइतबार बिहान सामाजिक सञ्जाल फेसबुकमा उल्लेख गर्नुभएकाे छ ।

बैकिङ ट्रान्सफर गर्दा लाग्ने गरेको अतिरिक्त चार्जबारे सुझाव आइरहेकाे उहाँले उल्लेख गर्नुभएकाे छ । प्रधानमन्त्री ओलीले लेख्नुभएकाे छ – ‘हिजोआज फेसबुकको इन्बक्समा मोबाइल बैंकिङ ट्रान्सफर गर्दा लाग्ने गरेको अतिरिक्त चार्जबारे फेसबुकका साथीहरुबाट सुझावहरु आइरहेका छन्, आजभोलि हामी धेरैजसो डिजिटल माध्यमबाट रकम ट्रान्सफर गर्ने गरेका छौं, इन्टरनेटको सहजताले होला, सानोसानो कारोबारमा पनि हामी क्यासलेस गर्न अभ्यस्त छौं ।’

आफ्ना समस्या सरकारलाई जानकारी गराउन आग्रह गर्दै उहाँले सरकारले ती समस्या सम्बाेधन गर्ने उल्लेख गर्नुभएकाे छ । प्रधानमन्त्री ओलीले  लेख्नुभएकाे छ – ‘साना डिजिटल कारोबार गर्दा निशुल्क गर्ने विषयमा म सम्बन्धित अधिकारीसँग छलफल गर्दैछु, तपाइँहरुका समस्या सरकारलाई यसरी नै जानकारी गराईएका समस्या सरकारलाई यसरी नै जानकारी गराउनु होला, हामीलाई सधैं झकझकाउनुहोस्,सरकारले त्यसतर्फ काम गर्दै जानेछ ।’

प्रधानमन्त्री ओलीले जाजरकोटका अबिन बिकले दिएकाे सुझाव पनि फेसबुकमा उल्लेख गर्नुभएकाे छ । ‘जाजरकोटका अबिन बिके लेख्नुहुन्छ– ‘अहिले म दैनिक रुपमा सय-पचास रुपैयाँका कारोबार दिनमा ५-६ पटक गर्छु र त्यहाँ हरेक पटक लाग्ने ११ रुपैयाँ ३० पैसा चार्जले मेरो दैनिक रुपमा ६०-७० रुपैयाँ खर्च हुन्छ, यसरी महिनामा मेरो २ हजार देखि २२ सय सम्म खर्च हुन्छ, यो कसरी हटाउने होला ?’


0
Shares

प्रतिक्रिया दिनुहोस !