३० माघ २०८१, बुधबार
  • हाम्रो बारेमा
  • विज्ञापन

राससले चाँडै नेपाल भाषामा समाचार सेवा दिने

प्रकाशित मिति :  ३० भाद्र २०८१, आईतवार १७:३३


काठमाडौँ । राष्ट्रिय समाचार समिति (रासस) ले आफ्ना सेवाग्राहीलाई चाँडै नेपाल भाषामा समाचार सेवा दिने भएको छ । राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाको अध्यक्षतामा आज यहाँ सो भाषाका भाषिक अभियानकर्मी, सञ्चारकर्मी, भाषा आयोगका सदस्य लगायतसँग बसेको बैठकमा पत्रकारिता, नेपाली र नेपालभाषामा दक्ष  सञ्चारकर्मी नियुक्त गरी यथासम्भव छिटो नेपाल भाषामा समाचार सम्प्रेषण गर्ने सहमति भएको हो ।
त्यस अवसरमा कार्यकारी अध्यक्ष झाले नेपालभाषाको आधिकारिक मानक कायम गरिने,  समाचार शैली तयार गरी विषयवस्तु र भाषा प्रयोगमा सजगता अपनाइने बताउनुभयो । उहाँले पत्रकारिता फस्टाए भाषा पनि फस्टाउने जनाउँदै राज्यको समावेशिताको नीतिलाई राससले पनि क्रमशः अनुसरण गर्दै जाने बताउनुभयो । राससले यसअघि गत पुसमा नेपालगन्ज उपमहानगरपालिकाको आर्थिक सहयोगमा अवधी भाषामा समाचार सेवा दिइसकेको छ भने छिट्टै नेपालभाषा र मैथिलीमा पनि सेवा दिने तयारी गरेको छ । राज्यको स्वामित्वमा रहेका ‘गोरखापत्र’  दैनिक पत्रिका, ‘रेडियो नेपाल’ र ‘नेपाल टेलिभिजन’ ले भने विभिन्न राष्ट्रभाषामा समाचार र कार्यक्रम प्रकाशन–प्रसारण गरिसकेका छन् ।
राससका नायब महाप्रबन्धक राजु शाक्यले संस्थाले  विसं २०७४ देखि नै चार मातृभाषामा समाचार सम्प्रेषण गर्ने सोच राखेको तर अहिले मात्र अनुकूलता मिलेको उल्लेख गर्नुभयो । उहाँले नेपाल भाषामा समाचार सेवा सुरु भएपछि आवश्यक पृष्ठपोषण दिन सरोकार भएकाहरूलाई आग्रह गर्नुभयो ।  नायब महाप्रबन्धक सोमनाथ लामिछानेले आफ्ना ग्राहकहरूलाई मातृभाषाका समाचार सेवा हाल निःशुल्क प्रदान गर्ने प्रस्ताव विचाराधीन रहेको  जानकारी दिनुभयो । यस्तै, नायब महाप्रबन्धक श्यामप्रसाद रिमालले पत्रकारिता तथा नेपाली र नेपाल भाषामा दक्ष सञ्चारकर्मीलाई सम्पादक । समाचारदाताका रूपमा नियुक्त गरी सेवालाई दिगो बनाइनुपर्नेमा जोड दिनुभयो ।
राससका प्रधान सम्पादक उत्तम सिल्वाल र आलेख समाचार प्रमुख कृष्ण अधिकारीले नेपाल भाषा सेवालाई दिगो र व्यवस्थित गर्न स्थानीय तहहरूसँग पनि सहयोगका लागि पहल गर्न आग्रह गर्दै सेवासम्बन्धी विषयमा सरोकार भएकाहरूको धारणामा एकरूपता होओस् भन्नुभयो ।
बैठकमा  आयोगका सदस्य सुरेशकिरण मानन्धरले नेवाः देय्  दबूले आफ्नो दोस्रो सम्मेलनबाट काठमाडौँमा बोलिने नेवाः भाषालाई आधिकारिक मान्ने निर्णय गरिसकेको सन्दर्भ उल्लेख गर्दै मातृभाषी मिडियालाई  राससका सामग्री  आफ्नै छुट्टै स्तम्भमा प्रयोग गर्न प्रोत्साहन गर्नुपर्ने सुझाव दिनुभयो ।
‘इलोहं प्रकाशन’ का निर्देशक नरेशवीर शाक्य, गोरखापत्र ‘नयाँ नेपाल समावेशी पृष्ठ’ का लागि नेपालभाषाका संयोजक रमेशकाजी स्थापित, ‘ईः छापा डटकम’ का सम्पादक ज्ञानराम श्रेष्ठ, ‘नेवाः अनलाइन न्युज’ का प्रकाशक । सम्पादक सुजीव बज्राचार्य,  ‘इमेज च्यानल टिभी’ का नेपालभाषा ब्युरो सम्पादक। समाचारवाचक केके मानन्धर,  ‘थेमृङ’ मासिकका प्रकाशक । सम्पादक बाबुकाजी श्रेष्ठ,  ‘नेपालभाषा टाइम्स’ का सम्पादक तेजनारायण मानन्धर, ‘नेपा टिभी’ का कार्यकारी निर्देशक रामकृष्ण खड्गीलगायतले रासस  मातृभाषा सेवाको स्वागत गर्दै मातृभाषा प्रवर्द्धनमा राससले जोड दिनुपर्ने बताउनुुभयो ।
नेवाः भाषी समुदायको साहित्यिक–सांस्कृतिक गतिविधिका समाचार दैनिक सम्प्रेषण गर्नुपर्ने, पाठकको रुचिअनुसारका सामग्री दिनुपर्ने, जनशक्तिका हकमा एक व्यक्तिभन्दा समूहलाई नै समाचार सम्प्रेषणको जिम्मेवारी दिइनुपर्ने जस्ता सुझाव दिनुभयो ।
राससले केही दिनभित्रै मैथिलीभाषी सञ्चारकर्मीसँग छलफल गर्ने जनाइएको छ ।
-रासस


0
Shares

प्रतिक्रिया दिनुहोस !