अमेरिकामा प्रधानमन्त्री ओलीले भाग लिने भनिएको नेपालीसँगको अन्तरक्रिया कार्यक्रम स्थगित
काठमाडौं । अमेरिकाकाको न्युयाेर्कमा सोमबार प्रधानमन्त्री केपी शर्मा ओली सहभागी हुने भनिएको नेपाली समुदायसँगको अन्तरक्रिया कार्यक्रम स्थगित भएको छ ।
न्युयोर्कमा आइतबार बेलुकी सो कार्यक्रम तय भएकोमा प्रधानमन्त्रीको व्यस्तता र सुरक्षा लगायतको कारण कार्यक्रम स्थगित गरिएको नेपाली महावाणिज्य दूतावास न्युयोर्कले जनाएको छ । अन्तरक्रियामा परराष्ट्र मन्त्री आरजु देउवा पनि सहभागी हुने कार्यक्रम रहेको थियो । प्रधानमन्त्री ओली राष्ट्र संघको महासभा, समिट अफ द फ्युचर र अन्य साइडलाइन भेटवार्तामा व्यस्त भएको र समारोह स्थलको सुरक्षा संवेदनशीलताको बारेमा सम्बन्धित निकायको सुझाव समेतलाई ध्यानमा राखी कार्यक्रम स्थगन गरिएको दूतावासले जनाएको छ ।
प्रधानमन्त्री ओलीको स्वागतमा राखिएको कार्यक्रममा नेपाली समुदायले गैर आवासीय नागरिकता प्रभावकारी नभएकोले पुरानै नागरिकताको निरन्तरता र ड्यालस तथा क्यालिफोर्नियामा कन्सुलेट कार्यालय स्थापनाको लागि आवाज उठाउने तय भएको थियो । त्यसका लागि क्यालिफोर्निया, टेक्ससबाट नेपाली समुदायका अगुवाहरू न्युयोर्क पुगेका थिए ।
प्रधानमन्त्रीको कार्यक्रम नहुनुलाई नेपालमा पछिल्लो समयमा उत्पन्न घटनाक्रमसँग पनि केहीले जोडेर हेरेका छन् । पूर्वउपप्रधान तथा गृह मन्त्री रवि लामिछाने सहकारीको रकम हिनामिना प्रकरणमा परेको र अनुसन्धानको लागि प्रहरीले नियन्त्रणमा लिने तयारी भइरहेको तथा दुर्गा प्रसाईँलाई प्रहरीले हिरासतमा राखिसकेको अवस्थामा कार्यक्रममा उनीहरुका समर्थकहरूले विरोध जनाउन सक्ने भएकाले पनि कार्यक्रम स्थगित गरिएको आँकलन गरिएको छ ।