२ कार्तिक २०८१, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

सीसाजन्य विषाक्तको प्रभाव नियन्त्रण गर्न विश्वव्यापी प्रयास आवश्यक : प्रधानमन्त्री

प्रकाशित मिति :  ८ आश्विन २०८१, मंगलवार १०:०६


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बालबालिकाहरूमा सीसाजन्य विषाक्तको प्रभाव नियन्त्रण गर्न विश्वव्यापी प्रयास आवश्यक सहेको बताउनुभएको छ ।

संयुक्त राष्ट्रसंघको ७९ औँ महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहनुभएका प्रधानमन्त्री ओलीले यूएसआइडी र युनिसेफद्वारा आयोजित ‘लिड फ्री फ्युचरः पार्टनरसिप लञ्च एण्ड प्लेजिङ इभेन्ट’लाई सम्बोधन गर्दै मानव समुदायको भविष्य जोगाउन विश्वले यसमा साझेदारीको साथ अगाडि बढ्नु पर्ने बताउनुभयो । ‘सीसाजन्य विषाक्तताले कम र मध्यम आय भएका देशमा हरेक बच्चालाई हानि पुर्‍याउँछ, उनीहरूको संज्ञानात्मक विकास, शारीरिक स्वास्थ्य र भविष्यको सम्भावनालाई क्षति पुर्‍याउँछ, हामी सीसा जोखिमद्वारा कुनै पनि बच्चाको क्षमता कम नभएको सुनिश्चित गर्न विश्वव्यापी प्रयासमा सामेल हुन कटिबद्ध छौँ’, ओलीले भन्नुभयो ।

आर्थिक सर्तहरूमा गणना गरियो भने केही रिपोर्टहरूले लिड एक्सपोजरले अनुमानित १.४ ट्रिलियन डलरमा विश्वव्यापी उत्पादकत्व घाटा निम्त्याउने देखाएको ओलीले बताउनुभयो । ‘यद्यपि सीसा विषाक्तता नियन्त्रण पूर्ण रूपमा रोकथाम योग्य छ र यति महँगो छैन, हामीले पर्याप्त गरेका छैनौँ’, उहाँले भन्नुभयो ।

यसको नियन्त्रणको लागि सरकारले नै नेतृत्व लिनुपर्ने ओलीको धारणा छ । लिडको प्रयोग सीमित गर्ने र आवश्यक भएमा विभिन्न क्षेत्रमा लिडको प्रयोगमा प्रतिबन्ध लगाउने जस्ता प्रभावकारी घरेलु नीतिगत उपायहरू राख्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

संयुक्त राष्ट्र सङ्घ र यसका एजेन्सीहरूले यस मुद्दालाई उच्च प्राथमिकतामा राख्नुपर्ने ओलीको राय छ । संयुक्त राष्ट्रका एजेन्सीहरूले राष्ट्रिय संस्थाहरूलाई विशेष गरी एलडीसी र एलआईसीहरूमा क्षमता अभिवृद्धि, शिक्षा, चेतना वृद्धि, प्रशिक्षण, अनुसन्धान र विकासको माध्यमबाट सहयोग गर्नुपर्नेमा ओलीले जोड दिनुभयो । यसको लागि डब्लुएचओले अस्पताल र प्रयोगशालाहरूमा आवश्यक परीक्षण सुविधाहरू स्थापना गर्न सहयोग प्रदान गर्न सक्ने उहाँको राय छ ।

आवश्यक स्रोत परिचालन गरी प्रयासलाई सफल बनाउन सकिने ओलीले बताउनुभयो । यसका लागि विश्व बैंक र अन्य आइएफआईहरू, युएसएआईडी जस्ता अन्तर्राष्ट्रिय र द्विपक्षीय दाताहरूले खाँचो परेका देशमा आफ्नो सहयोग बढाउन आवश्यक रहेको ओलीको धारणा छ ।

विशेष लक्षित समूह बालबालिका र गर्भवती महिलाहरूमा जनचेतनाका कार्यक्रम सुरु गर्न जरुरी रहेको उहाँले बताउनुभयो ।

नेपाल दक्षिण एसियामा लेडेड पेट्रोलमा प्रतिबन्ध लगाउने पहिलो देश मध्ये एक भएको ओलीले बताउनुभयो । बाध्यकारी नियमहरू मार्फत रङमा सीसालाई विनियमित गर्ने नेपाल सो क्षेत्रको पहिलो मुलुक भएको ओलीले बताउनुभयो ।

सन् २०१४ मा नेपाल सरकारले नेपालबाट लिड पेन्ट हटाउन राष्ट्रिय लिड पेन्ट स्ट्यान्डर्ड लागु गरेको ओलीले स्मरण गराउनुभयो । सन् २०२३ मा शिशु खाना, मादक पेय पदार्थ र आवश्यक खाना र पानीको आपूर्तिमा सीसासहित भारी धातुहरू सीमित गर्ने कडा नियम नेपालले लागू गरेको उहाँले जानकारी दिनुभयो । त्यस्तै सन् २०२४ मा सार्वजनिक स्वास्थ्यको रक्षा गर्न नियामक ढाँचालाई अझ सुदृढ पार्दै खाद्य सुरक्षा विधेयक लागु गरेर अर्को महत्त्वपूर्ण कदम नेपालले चालेको ओलीले बताउनुभयो । देशको स्वास्थ्य र वातावरणीय नीतिलाई थप परिष्कृत गर्न महत्वपूर्ण डाटा सङ्कलन गर्न नेपालले सन् २०२५ मा राष्ट्रिय रक्त सीसा स्तर मूल्याङ्कन गर्ने ओलीले जानकारी दिनुभयो ।

कार्यक्रमलाई अमेरिकी राष्ट्रपति जाे बाइडेनका पत्नी डा जिल वाइडेन, डोमिनिकाका राष्ट्रपति, मलावीका राष्ट्रपतिलगायतले पनि सम्बोधन गर्नुभएको थियो ।


226
Shares

प्रतिक्रिया दिनुहोस !