कोशी, बाग्मती र गण्डकी प्रदेशका विभिन्न ठाउँमा वर्षा, सतर्क रहन आग्रह
काठमाडाैं । काठमाडाैं उपत्यकासहित देशका धेरै ठाउँमा अहिले पानी परिरहेकाे छ ।
देशभर मनसुनी वायुको प्रभाव रहेको तथा भारतको उत्तर-पूर्व असम र आसपासको क्षेत्रमा बनेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागकाे माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।
हाल कोशी, मधेश, बाग्मती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा आंशिक बदली भएको छ । कोशी, बाग्मती र गण्डकी प्रदेशका केही ठाउँमा मेघगर्जन र चट्याङसहित पानी परिरहेकाे महाशाखाले जनाएकाे छ ।
झापाको अनरमनी बिरता, शनिश्चरे, बाहुनडांगी, इलामको कन्याम टिस्टेट, बरफल्याङ, पाँचथरको फिदिम, मोरङको बाहुने र आसपास सामान्यदेखि मध्यम वर्षा मापन भएको र थप वर्षा हुने सम्भावना महाशाखाले जनाएको छ । यी क्षेत्रहरू भई बहने कन्काइ नदी, हेवा खोला, पूवा खोला, माई खोला, अदुबा खोला, बाहुने खोला लगायत अन्य स–साना खोलाहरूमा आकस्मिक बहाव बढ्न सक्ने रहेकाले नदी तटीय क्षेत्रमा बस्नेहरुलाई सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ ।
आज दिउँसो कोशी, मधेश,बाग्मती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । कोशी, मधेस बाग्मती र गण्डकी तथा अन्य प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना छ । कोशी र बाग्मती प्रदेशका १-२ ठाउँमा भारी वर्षाको सम्भावना छ । कोशी प्रदेशको तराई भेगका केही ठाउँमा हुरी चल्ने सम्भावना समेत महाशाखाले जनाएकाे छ ।
आगामी २४ घण्टामा कोशी, बाग्मती र गण्डकी प्रदेशका केही ठाउँमा तथा बाँकी प्रदेशका एक-दुई ठाउँमा मेघ गर्जन र चट्याङसहित हल्का देखि पानी पर्ने सम्भावना छ । कोशी प्रदेश र बागमती प्रदेशका एक- दुई स्थानमा भारी बर्षाको पनि सम्भावना रहेकोले कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा असर पर्ने सम्भावना रहेकोले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो, भू-क्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेकाे छ ।