सडक अवरुद्ध हुँदा हवाई सेवामा चाप, आजदेखि असोज ३० गतेसम्म रात्रिकालीन उडान
काठमाडौं । सरकारले हवाई उडान चापलाई मध्यनजर गर्दै बडा दशैंको पहिलो दिन घटस्थापना देखि पूर्णिमासम्म रात्रिकालीन उडान सञ्चालन गर्ने भएकाे छ ।
रात्रिकालिन उडान हुने सबै विमानस्थलहरू आजदेखि दशैंभर अर्थात असाेज ३० गते पूर्णिमासम्म बिहान साढे ४ देखि राति १२ बजेसम्म खुल्ने नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएकाे छ । हवाई यात्रुको चाप बढेपछि घटस्थापनादेखि पूर्णिमासम्म रात्रिकालीन उडानको व्यवस्था मिलाइएकाे प्राधिकरणले जनाएकाे छ ।
केही दिनअघिकाे भारी वर्षाका कारण आएकाे बाढी र पहिराेले देशका विभिन्न सडक अवरुद्ध भएसँगै र दशैं नजिकिएसँगै हवाई उडान चाप बढेकाे हाे ।
साे समय आवश्यकता अनुसार थप हुन सक्ने प्राधिकरणले सूचनामार्फत जानकारी दिएकाे छ । ‘देशभर सिर्जित बढ्दो हवाई चापलाई सम्बाेधन गर्न असोज, १७-३० (घटस्थापना देखि पुर्णिमा) सम्म त्रि.अ.वि., गौतमबुद्ध, पोखरा लगायत रात्रीकालीन उडान हुने सम्पुर्ण विमानस्थलहरु बिहान ४:३० बजेदेखि राति १२:०० बजेसम्म नै (आवश्यकता अनुसार थप हुने) सञ्चालनमा आउने व्यवस्था मिलाइएको छ’- सूचनामा उल्लेख छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडाैं, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवा, पोखरा अन्तर्राष्ट्रिय विमानस्थल कास्की, भद्रपुर, विराटनगर, जनकपुर, नेपालगञ्ज र धनगढी विमानस्थलमा रातको समयमा पनि उडान गर्न सकिन्छ ।












