काठमाडौंका मेयरलाई अनेरास्ववियुको पाठ
काठमाडौं । सामाजिक सञ्जालमा अरुको विरोध गर्ने र निर्माण भन्दा भत्काउन ध्यान दिने काठमाडौंका मेयर बालेन्द्र साहलाई अनेरास्ववियुले विपतको बेलामा कसरी काम गर्ने भन्ने पाठ सिकाएको छ ।
अनेरास्ववियुले असोज १२ गतेको बाढीले क्षतिग्रस्त काठमाडौं त्रिपुरेश्वरको सुकुम्वासी बस्तीमा सरसफाइ गरेर नागरिकको पीडामा कसरी साथ दिने भन्ने पाठ मेयर साहलाई सिकाएको हो । अनेरास्ववियुका महासचिव नरेश रोकायाको नेतृत्वमा काठमाडौं जिल्ला कमिटीले सो क्षेत्रमा सरसफाइ गरेको हो ।
बाढीले महानगरको वडा नं ११ त्रिपुरेश्वरस्थित सुकुम्वासी बस्तीमा क्षति पुर्याएको थियो । बाढीले पुरिएका संरचनाहरूका कारण बस्तीका बासिन्दा समस्यामा परेपछि अनेरास्ववियुले डोजर लगाएर सफा गरेको अनेरास्ववियुका महासचिव नरेश रोकायाले जानकारी दिनुभयो ।
विद्यार्थीको टोलीले बस्तीको फोहोर उठाएर महानगरको टेकुस्थित सङ्कलन केन्द्रमा पुर्याइएको थियो ।
बस्तीका बासिन्दाले फोहोरका कारण रोग फैलिन सक्ने भन्दै काठमाडौं महानगरपालिकालाई सरसफाइ गरिदिन आग्रह गरेका थिए । तर नगरपालिकाले तत्काल सफाइ गर्न नसकिने जवाफ दिएपछि अनेरास्ववियु सरसफाइ गरेको हो ।