अहिलेकाे व्यवस्था र सरकार दुवै फाल्नुपर्छ : ज्ञानेन्द्र शाही
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता तथा प्रमुख सचेतक ज्ञानबहादुर (ज्ञानेन्द्र) शाहीले दशैं र तिहार सकिएलगत्तै अहिलेको व्यवस्था फाल्नुपर्ने बताउनुभएकाे छ ।
शनिबार काठमाडौंमा आयोजित साक्षात्कारमा बोल्दै नेता शाहीले सरकारको उपस्थिति नागरिक विपत्तिमा परेर सयौंको संख्यामा ज्यान गुमाउँदापनि नदेखिएपछि यो सरकारलाई पाल्नुपर्ने कुनै कारण नै नभएको बताउनुभयाे ।
अहिले सरकार र सत्ता पक्षका नेताहरु जनताको घरदैलोमा जान त परै जाओस सार्वजनिक कार्यक्रममा समेत भाग लिन डराउन थालेको उहाँले आराेप लगाउनुभयाे । ‘सरकार पक्षका मान्छे जनताकहाँ जान डराउँथे, तर अब त सार्वजनिक कार्यक्रममापनि आउन डराए, यिनीहरु अहिले पत्रकारदेखि भाग्न थाले, जनतादेखि भाग्ने, देशको प्रधानमन्त्री अमेरिकामा जाँदा कार्यक्रम स्थगन गर्ने, बास्तवमा यिनीहरुको पालो अब भाग्ने नै हो, यो सरकारको अब दिनगन्ती सुरु भैसक्यो, गतिलो काम गरेको भए यसरी भाग्नुपर्दैन थियो’- शाहीले भन्नुभयाे ।
शाहीले धादिङको झ्याप्ले खोलाको पहिरोले ३५ जना नागरिकले ज्यान गुमाउनुमा राज्य जिम्मेवार रहेको आरोप पनि उहाँले लगाउनुभयाे । ‘मौसम पूर्वअनुमान महाशाखाले तीन दिनअघि नै अलर्ट गराएको थियो, तर राज्यको उपस्थिति देखिएन, नेपालको भएको यो घट्ना यदि युरोप, अमेरिका वा अरबमा घटेको भए के हुन्थ्यो ? आज ती जिल्लाका सिडिओ, एसपीहरुलाई ज्यान मार्ने उद्योगमा मुद्दा चल्दथ्यो, फाँसी दिने देशमा त तिनीहरुलाई फाँसी दिईन्थ्यो’- शाहीले भन्नुभयाे ।
ललितपुरको नख्खुमा नागरिकले घण्टौंदेखि ज्यान बचाउनको लागि याचना गर्दापनि सरकारको उपस्थिति नदेखिनु सरकारकाे असफलता भएकाे आराेप पनि उहाँले लगाउनुभयाे । ‘नख्खुबाट सिंहदरबार धेरै टाढा छैन, जनताले घण्टौं चिच्याउँदापनि उद्धार भएन, यो अवस्था भोलि अरु नागरिकलाई नआउला भन्न सकिएला, हामीले आखिरमा सरकारबाट के पायौं त ? ज्यान बचाउनको लागि याचना गर्दापनि सरकार देखिएन, कर के को लागि तिरेका छौं ? कर्मचारीलाई तलब खुवाउनको लागि मात्रै हो ? आज विपत्ति पर्दा सरकार कहाँ गयो ? म भन्छु अहिलेको राज्यसंयन्त्र फेल भैसक्यो, देशमा गृहमन्त्रीको आदेश कसैले मान्दैन, त्यसैले अब जनताबाट प्रतयक्ष निर्वाचित प्रधानमन्त्रीमा जाउँ, यही व्यवस्था रह्यो भने भोलि म नै प्रधानमन्त्री भएँ पनि केही गर्न सक्दिनँ’- शाहीले भन्नुभयाे ।
आफूले सर्वदलीय बैठकमा समेत हवाई भाडामा भएको मूल्यवृद्धिको विषय उठाएको तर विभागीय मन्त्री पर्यटनमन्त्री बद्री प्रसाद पाण्डेले भने भाडा घट्ने भनेर आश्वासन दिएको भएपनि व्यवहारमा त्यस्तो नदेखिएको उहाँले बताउनुभयाे । अहिले सरकार जनतामा जान नसक्नुको कारण जनताले कालो मोसो दलेर पठाउने नै मुख्य कारण भएको दाबी पनि शाहीले गर्नुभयाे ।