काठमाडौं–मन्थली हप्ताको ६ उडान सञ्चालन गर्ने निर्णय, विमान कम्पनीले उडान सञ्चालन गर्नेमा संशय
![](https://risingsunkhabar.com/wp-content/uploads/2024/10/manthali_1180888939.jpeg)
काठमाडाैं । काठमाडौंबाट रामेछाप सदरमुकामको मन्थली विमान स्थलमा तत्कालका लागि हप्ताको ६ दिन उडान सञ्चालन गर्ने नागरिक उड्डयन प्राधिकरणले निर्णय गरेको छ । तर विमान सेवा प्रदायक निजी कम्पनीले प्राधिकरणको सो निर्णय टेर्छन् वा टेर्दैनन् भन्ने संशय यथावत् छ ।
बाढी, पहिरोका कारण बिपी राजमार्ग बन्द हुँदा काठमाडौंबाट रामेछाप आउन सर्वसाधारणले अरनिको राजमार्ग घुमेर आउनु पर्ने अवस्था छ । लामो बाटो र जोखिमपूर्ण यात्राको कारण, बिरामी, बच्चा तथा ज्येष्ठ नागरिकले समस्या भोगेपछि मन्थलीमा नियमित उडान सञ्चालनको लागि माग हुँदै आएको छ ।
विपत्तिको समय र दशैँलाई ख्यालमा राखेर तत्कालका लागि नागरिक उड्डयन प्राधिकरण (क्यान)ले आइतबारदेखि शुक्रवारसम्म हप्ताको ६ दिन दैनिक एउटा उडान हुने गरी आइतबार उडान सेडुल स्वीकृत गरेको छ । तर विमान सेवा प्रदायक कम्पनीले सेडुलमा उडान सञ्चालन गर्न आनाकानी गरिरहेका छन्।
अहिले सगरमाथा क्षेत्र भ्रमणका लागि आएका विदेशी पर्यटकहरूलाई लक्षित गरी तारा एयर, समिट एयर र सिता एयरले मन्थली–लुक्लाको चार्टर उडान गरिरहेका छन् । ती विमान कम्पनीले रामेछापबाट स्थानीय यात्रुलाई काठमाडौं लैजान र ल्याउन अटेर गर्दै आएका छन् ।
मन्थलीबाट काठमाडौं जाने विमान खाली हुँदा आकस्मिक रूपमा यात्रु ओसार्ने गरिएको छ । रामेछापवासीले भने नियमित उडानको माग गर्दै आएका छन् ।
तीनवटा एयरले स्थानीय नागरिकलाई लक्षित गरी हप्तामा दुई÷दुई वटा उडान गर्ने गरी साप्ताहिक रूपमा काठमाडौँ–मन्थली ६ वटा उडानको सेडुल स्वीकृत भएको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । तर उनीहरूले सेडुल राखे पनि उडान क्यान्सिल गर्ने हुन् कि भन्ने आशङ्का स्थानीयलाई छ । नागरिक उड्डयन प्राधिकरणले सेडुल स्वीकृत गरी उडानको अनुमति समेत दिइसकेकाले अब सोही अनुसार तीन वटै एयरले अहिलेका लागि नियमित उडान गर्नुपर्ने बताइएको छ ।
पर्यटकको सिजनमा काठमाडौंको त्रिभुवन अन्ताराष्ट्रिय विमानस्थलमा चाप हुने हुँदा लुक्ला जाने पर्यटक ओसार्नको लागि केही वर्ष यतादेखि मन्थली विमानस्थल प्रयोग हुँदै आएको छ । विदेशी ओसार्न प्रयोग हुने यी विमान रामेछापवासीलाई भने आकाशको फल हुँदै आएको छ ।