सुकुम्वासी बस्तीमा बाढीले थुपारेको फोहोर नउठाएकोमा अनेरास्ववियुको आपत्ति
काठमाडौं । अनेरास्ववियुले देशकै मुटु राजधानी काठमाडौंमा बाढीका कारण सिर्जित फोहोर व्यवस्थापनमा काठमाडौं महानगरपालिका र विपद् व्यवस्थापन समितिको ध्यान नगएको भन्दै आपत्ति जनाएको छ ।
सोमबार अनेरास्ववियुले काठमाडौंका प्रमुख जिल्ला अधिकार तथा जिल्ला विपत् व्यवस्थापन समितिका संयोजक जयनारायण आचार्यलाई ध्यानाकर्षणपत्र बुझाइएको अनेरास्ववियुका केन्द्रीय सदस्य एवं काठमाडौं जिल्ला इञ्चार्ज धर्मराज तिमल्सिनाले जानकारी दिनुभयो । ध्यानाकर्षणपत्र बुझाउँदै काठमाडौं महानगरपालिकाको बल्खु, त्रिपुरेश्वर थापाथली लगायतका सुकुम्वासी बस्तीमा बाढीले थुपारेको फोहोर सफा नगरिएको भन्दै अनेरास्ववियुले आपत्ति जनाएको हो ।
बाढी पीडित आमनागरिकहरुको घाउमा मलम लगाउनु, विपद् प्रतिकार्य, विपद् पूनर्लाभ र समग्रमा विपद् व्यवस्थापनका कार्यमा सक्रिय रहनुको सट्टा जिल्ला विपद् व्यवस्थापन समिति, महानगर विपद् व्यवस्थापन समिति, वडा स्तरीय विपद् व्यवस्थापन समिति लगायत सबै संयन्त्र अझै पनि बेखर जस्तो रहनु आपत्तिजनक रहेको अनेरास्ववियुले जनाउको छ ।
काठमाडौंमा रहेका ती सुकुम्वासी बस्तीका बासिन्दाले महानगर समक्ष पटक पटक गुहार माग्दा पनि सम्बोधन नगरेको अनेरास्ववियुले जनाएको छ । ‘विपद्का कारण सिर्जित फोहोर तथा अन्य अनावश्यक वस्तु हटाउनु पर्नेमा आजसम्म नहटाइँदा बस्तीमा महामारी फैलिने सन्त्रासको वेदना सुन्न नसकेर महानगर र जिल्ला विपद् व्यवस्थापन समितिको आँखा खोलिदिन २०८१ असोज १७ गते अनेरास्ववियु काठमाडौं जिल्ला कमिटीले डोजर र ट्याक्टर लिएर त्रिपुरेश्वर स्थित सुकुम्वासी बस्तीमा रहेको फोहोर उठाएर टेकुसम्म पुर्याई व्यवस्थापन गर्यो तर आजका मितिसम्म पनि बल्खु, थापाथली, त्रिपुरेश्वर लगायत सुकुम्वासी बस्तीमा विपद् प्रतिकार्य, विपद् पूनर्लाभ र समग्रमा विपद् व्यवस्थापनका कार्यमा सम्बन्धित निकायले बेवास्ता गरेकोमा तत्काल यस क्षेत्रमा अविरल वर्षाका कारण सिर्जित फोहोर तथा अन्य अनावश्यक वस्तु हटाई, विपद् प्रतिकार्य, विपद् पूनर्लाभ र समग्रमा विपद् व्यवस्थापनका कार्य गरी स्वच्छ, स्वस्थ वातावरणमा बाँच्न पाउने अधिकार सुनिश्चित गर्न अनुरोध गर्दछौँ’, काठमाडौं महानगर विपद् व्यवस्थापन समितिलाई बोधार्थ दिँदै अनेरास्ववियु काठमाडौंका अध्यक्ष नीराजन थापाले हस्ताक्षर गरी बुझाइएको ध्यानाकर्षण पत्रमा उल्लेख छ ।