२ पुष २०८२, बुधबार
  • हाम्रो बारेमा
  • विज्ञापन

कात्यायनी देवीको पूजा आराधना गरिँदै

प्रकाशित मिति :  २३ आश्विन २०८१, बुधबार १०:११


काठमाडाैं । नेपालीहरुको महान पर्व बडा दशैं अन्तर्गत आज कात्यायनी देवीको पूजा आराधना गरिँदैछ ।

प्रत्येक वर्ष आश्विन शुक्ल षष्ठीका दिन कात्यायनी देवीको विधिपूर्वक पूजा आराधना गर्ने गरिन्छ । नवरात्रको सातौं दिन भए पनि आज नवदुर्गामध्येकी कात्यायनीको पूजा आराधना गर्न लागिएकाे हाे । यो वर्ष नवरात्रमा चतुर्थी तिथि दुई दिन परेका कारण बुधबार षष्ठी तिथिमा गर्ने कर्म गर्न लागिएको पञ्चांग​ निर्णायक विकास समितिले जनाएकाे छ ।

नवरात्रमा प्रत्येक दिन नवदुर्गाका १-१ स्वरूपको आराधना गर्ने परम्परा छ । त्यसैअनुरूप षष्ठी तिथिमा कात्यायनीको पूजा-आराधना गरिन्छ ।

कात्यायनी भगवतीको पूजा गरेमा रोग, शोक, भय, दुःखजस्ता संकट नास हुने धार्मिक विश्वास छ । यस दिन सात वर्षीया कन्यालाई ‘चण्डिका’ नामले पूजा गरिन्छ र विशेष रूपमा उहाँलाई अलंकार वा गरगहना चढाइन्छ । यस दिन देशभरका शक्तिपीठमा भक्जनकाे घुइँचाे लाग्ने गर्छ ।

काठमाडौंको नक्साल भगवती, शोभा भगवती, भद्रकाली, भक्तपुरको नाला भगवती, काभ्रेको पलाञ्चोक भगवती, ताप्लेजुङको पाथीभारा, धरानको दन्तकाली, गोरखाको मनकामना, सप्तरीको छिन्नमस्ता, पोखराको विन्ध्यावासिनी, भोजपुरको सिद्धकाली मन्दिरमा विशेष पूजा आराधना हुने गर्दछ ।

देवकार्य सिद्ध गर्न माता भवानी स्वयं कात्यायन ऋषिको आश्रममा पैदा भएको जनविश्वास छ । कात्यायनी देवीलाई वैज्ञानिक दृष्टिले ब्रह्माण्डीय सम्पूर्ण केन्द्र शक्तिको स्वरूप मानिन्छ । उहाँलाई विशेष गरी गुलिया परिकार प्रिय रहेकाले विभिन्न प्रकारका मिष्ठान्न अर्पण गर्नुपर्ने मान्यता छ ।

दशैंको पहिलो दिन घटस्थापना गरेसँगै दूर्गाका ९ वटा रूपको पूजा गरिन्छ । पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रम्हचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौ दिन स्कन्दमाता, छैठौँ दिन कात्यायनी, सातौं दिन कालरात्री, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजा गर्ने गरिन्छ ।


113
Shares

प्रतिक्रिया दिनुहोस !