काठमाडौं उपत्यकाबाट बाहिरियाे मनसुन, केही दिनमा बाँकी भूभागबाट पनि बाहिरिने
काठमाडाैं । यस वर्षको मनसुन काठमाडौं उपत्यकाबाट पनि बाहिरिएको छ ।
यस वर्षको मनसुन कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका सम्पूर्ण भू-भागका साथै काठमाडौं उपत्यकाबाट पनि मंगलबार बाहिरिएको जल तथा मौसम विज्ञान विभागकाे मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । ‘आज मिति २०८१ असोज २२ ( ८ अक्टाेबर २०२४) का दिन यस वर्षको मनसुन कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका सम्पुर्ण भू-भागका साथै काठमाडाैं उपत्यका लगायत वाग्मती प्रदेशको पश्चिमी भू-भाग र मधेश प्रदेशका पश्चिमी भू-भागको थोरै स्थानहरूबाट बहिर्गमन भएको छ’- महाशाखाले सूचनामा उल्लेख गरेकाे छ ।
नेपालको सुदूरपश्चिम प्रदेश लगायत कर्णाली प्रदेशका धेरै तथा लुम्बिनी प्रदेशको पश्चिमी भू-भागको थोरै ठाउँहरुबा ०८१ असोज २० (६ अक्टाेबर २०२४) का दिन यस वर्षको मनसुन बहिर्गमन भइसकेकाे महाशाखाले जनाएकाे छ ।
महाशाखाका अनुसार मनसुनी वायु कमजोर हुदै गईरहेको हुनाले नेपालको बाँकी भू-भागबाट पनि केही दिनमा मनसुन बाहिरिने सम्भावना देखिन्छ । यस वर्षको मनसुन गत जेठ २८ गते नेपालमा भित्रिएको थियो ।












