आज महाअष्टमी र महानवमी एकै दिन, दुर्गा भवानीको विशेष पूजा गरी मनाइँदै
काठमाडाैं । आज बडादशैं अर्थात नवरात्रको नवौं दिन महाअष्टमी र महानवमी पर्व विशेष पूजा गरी एकसाथ मनाइँदैछ ।
तिथि घटबढका कारण अष्टमी र नवमीको पूजा एकै दिन परेको हो । आज महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजा गरिन्छ ।
अष्टमीको अवसरमा महागौरी देवीको विधिपूर्वक पूजा आराधना गर्ने परम्परा छ । महाअष्टमीको दिन दुर्गा भवानीलाई शक्तिशाली बनाउने दिन भएकाले यसको विशेष महत्व रहेको ग्रन्थमा छ । आजको दिन दशैंघर, कोतलगायत राज्यका विभिन्न शक्तिपीठमा दुर्गा भवानीको विशेष पूजा गरिन्छ । दुर्गा सप्तशती, श्रीमद्देवीभागवत र देवी स्तोत्र पाठ गरिन्छ । आजैका दिन राति कालरात्रीको विधि र पूजासहित मनाउने गरिन्छ ।
आजका दिन काठमाडाैं उपत्यकाभित्रका शक्तिपीठहरु गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, भद्रकाली, नक्साल भगवती, शोभा भगवती, विजेश्वरी, इन्द्रायणी, रक्तकाली, वज्रयोगिनी, सङ्कटा, बज्रवाराही, दक्षिणकाली, चामुण्डा, सुन्दरीमाई, भाटभटेनी, बगलामुखीलगायतमा शक्तिपीठ र देवी मन्दिरमा पूजा गर्ने श्रद्धालु भक्तजनको घुँइचो लाग्छ । उपत्यकाबाहिरका गोरखाको मनकामना, पर्साको गहवामाई, सप्तरीको छिन्नमस्ता भगवती, धनुषाको राजदेवी, डढेलधुराको उग्रतारा, काभे्रपलाञ्चोकको चण्डेश्वरी, नाला भगवती र पलाञ्चोक भगवती, सिन्धुपाल्चोकको पाल्चोक भगवती, दोलखाको कालीञ्चोक भगवती, ताप्लेजुङको पाथीभरा, अर्घाखाँचीको सुपादेउरालीलगायतका शक्तिपीठ र देवी मन्दिरमा पनि पूजा गर्ने श्रद्धालु भक्तजनको घुँइचो लाग्छ ।
आजको दिन कलपूर्जा, हातहतियार र यातायातका साधनलाई विशेषरुपमा सरसफाइ गरी देवी स्थापना गरिएको ठाउँमा राखी पूजा गर्ने गरिन्छ । आज पूजा कोठामा आआफ्नो कुल परम्परा अनुसार काँक्रो, घिरौंला, कुभिण्डो, मूला र नरिवल आदि चढाई पूजा गर्ने समेत चलन छ ।
यस्तै नवमीका अवसरमा नवदुर्गा मध्येकी नवौं देवी सिद्धिदात्री पूजा आराधना गरिँदैछ । महानवमीका दिनमा गरिने दुर्गा पूजालगायत कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगी चढाइन्छ । हनुमानढोका दरबार क्षेत्रमा रहेको वर्षमा एकपटक आज अर्थात् महानवमीका दिन मात्र खुल्ने तलेजु भवानीको मन्दिर आज खुल्ने गर्छ । तलेजु भवानीलाई भने फूलपातीकै दिन हनुमानढोका दरबारको मूलचोकमा ल्याइएको छ । तलेजु भवानीलाई विजयादशमीका दिन बिहानमात्र मूल मन्दिरमा फर्काइनेछ । महानवमीका अवसरमा कोतहरूमा हर्षबढाइँसाथ कोतपूजा र निशानापूजा गरिन्छ । यस अवसरमा हनुमानढोका दरबारका साथै नेपाली सेनाका ब्यारेक र गुल्महरूमा बाजागाजासहित जंगी निशाना पूजा र कोतपूजा गर्ने प्रचलन छ ।
दशैंको मुख्य दिन भोलि विजयादशमी पर्व मनाइन्छ । मान्यजनकाे हातबाट टिका र जमरा ग्रमण गरेर विजयादशमी मनाइन्छ ।