२८ आश्विन २०८१, सोमबार
  • हाम्रो बारेमा
  • विज्ञापन

प्रधानमन्त्री ओलीले यसपाली सर्वसाधारणलाई दशैंको टीका नलगाइदिने

प्रकाशित मिति :  २५ आश्विन २०८१, शुक्रबार १७:०९


काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले यस वर्षकाे बडादशैंमा सर्वसाधारणलाई टीका नलगाइदिने हुनुभएकाे छ ।

बडादशैंको अवसरमा शुक्रबार शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले परिवारका सदस्यसँग बाहेक यसपटक टीका लगाउने कार्यक्रम नराखिएकाे बताउनुभयाे । यसअघि उहाँले प्रधानमन्त्री हुँदा सर्वसाधारणलाई टीका लगाइदिने गर्नुभएकाे थियाे ।

प्राकृतिक विपद्ले दिएको पीडाबाट मुक्त हुन केन्द्रित हुनुपर्ने भएकाले यसअघि जस्तो यसपालीकाे विजया दशमीको टीका उल्लासपूर्ण नभएकाे उहाँले भिडियाे सन्देशमार्फत बताउनुभयाे ।

दशैंअघि आएकाे बाढी पहिराेका कारण कैयाैंले जीवन गुमाउनु परेकाे कति घाइते बन्नुपरेकाे र धेरै भाैतिक पूर्वाधार, खानेपानी ध्वस्त भएकाे  उहाँले बताउनुभयाे । विपद्काे घडीमा उल्लासमय ढंगले दशैं मनाउन नसकिएकाे उहाँले बताउनुभयाे ।

आफ्नाे मन भारी भएकाे उहाँले बताउनुभयाे । ‘हाम्रा दाजुभाइ तथा दिदीबहिनी पनि रमाउन सक्नुभएकाे छैन, म पनि रमाउन सकिरहेको छैन, सरकारको नेतृत्व गरिरहेकाे हुनाले मेराे काँधमा थप जिम्मेवारी, उहाँ (पीडित) हरूको आँसु पुछ्ने, उहाँहरुका घाउमा मलम लगाउने, पीडितलाई राहत दिने, पुनर्निर्माणका कामहरू गर्ने र चाडबाडको आवागमनलाई सहज एवं सुगम बनाउने उत्तरदायित्वमा म लागिरहेकाको छु, सबैलाई धैर्यधारण गर्न आग्रह गर्छु’- उहाँले भन्नुभयाे ।

पीडामा परेकाहरुकाे पीडा हटाउन विश्वभर छरिएका नेपालीलाई सहयाेगकाे हात बढाउन प्रधानमन्त्री ओलीले आग्रह गर्नुभयाे । पीडा सहेर अगाडि बढ्दै पहिलेकै अवस्थामा अझ सुन्दर संरचना निर्माण गरेर पुनस्स्थापित गर्ने प्रतिबद्धता उहाँले बताउनुभयाे ।

विपद्‍बाट किसानहरुकाे अन्नबालीमा नाेक्सान भएकाे भन्दै प्रधानमन्त्री ओलीले त्यसकाे मूल्यांकन गरेर क्षतिपूर्ति उपलब्ध गराइने बताउनुभयाे । अस्थायी बसाेबासकाे प्रबन्ध र खानपीनकाे प्रबन्ध गरिने उहाँले बताउनुभयाे । परिस्थिति अनुसार दशैं मनाउन र मिल्नेहरुलाई टिका लगाउन प्रधानमन्त्री ओलीले सबैमा आग्रह गर्नुभयाे ।


452
Shares

प्रतिक्रिया दिनुहोस !