२ कार्तिक २०८१, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

आज विजयादशमी, मान्यजनबाट टीका-जमरा ग्रहण गरी मनाइँदै,उत्तम साइत ११:३६ बजे

प्रकाशित मिति :  २६ आश्विन २०८१, शनिबार ०७:५३


PRASIT-O-GRAPHS

काठमाडाैं । आज आश्विन शुक्ल दशमी अर्थात् नेपालीहरुकाे महान् चाड विजयादशमी ।

बडादशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनबाट दुर्गा भवानीको प्रसादस्वरुप रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाएर हर्षोल्लाससाथ विजयादशमी मनाइँदैछ । हिन्दू धर्मालम्बीहरुले आजको दिन आफ्ना मान्यजन तथा अग्रज अभिभावकबाट दुर्गा भवानीको प्रसादस्वरुप टीका, जमरा लगाई विजयादशमी मनाउँछन् ।

विजयादशमीमा घटस्थापनाको दिन पूजाकोठा तथा दशैंघरमा नौ दिनसम्म पूजा गरी राखेको पहेँलो जमरा र रातो टीका सँगै ग्रहण गर्ने प्रचलन छ । बडादशैंकाे दशाैं अर्थात् टीकाको दिन दशैंकाे प्रमुख दिन पनि हो ।

असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयकाे प्रतिकका रुपमा मनाइने विजयादशमी बडादशैंकै सबैभन्दा महत्वपूर्ण दिन हाे । आजकाे दिन परिवारका आफू भन्दा ठूला मान्यजनको हातबाट टीका लगाई उहाँहरुबाट, ऐश्वर्य, बुद्धि र दीर्घायु प्राप्तिको आशीर्वाद लिने गरिन्छ ।

नेपाल पञ्चांग निर्णायक समितका अनुसार टीकाको उत्तम साइत ११ बजेर ३६ मिनेट जाँदा छ । यद्यपि विजयादशमी आफैंमा शुभ दिन भएकाले आज टीका लगाउन सामान्य मानिसले साइत खोज्नुनपर्ने समितिले जनाएकाे छ ।

घटस्थापनादेखि पूजा-आराधना गरिएकी देवीलाई आज बिहान ८ बजेर ३३ मिनेटमा विसर्जन गरिनेछ । टीका लगाउने व्यक्ति पूर्व फर्केर बस्ने र लगाइदिने व्यक्तिले उत्तर–पश्चिम फर्केर लगाइदिनु उत्तम रहेको समितिले जनाएको छ ।

आज बडादशैंको मुख्य दिन भए पनि टीका लगाउने क्रम कोजाग्रत पूर्णिमाको दिनसम्म नै जारी  रहन्छ । देशका पश्चिम भेगमा भने आजको दिन मात्र टीका लगाउने प्रचलन छ । कोजाग्रत पूर्णिमाका दिन महालक्ष्मीको व्रत बसी पूजा गरेपछि दशैं पर्व समापन हुन्छ ।

आजदेखि पूर्णिमासम्म मान्यजनबाट दुर्गाको प्रसादका रुपमा टीका ग्रहण गर्दा अन्य फूलका साथै घटस्थापनाका दिनमा वैदिक विधिपूर्वक राखिएको पहेँलो जमरालाई समृद्धिको प्रतीकको रुप मानी लगाइन्छ ।

दशैंका अवसरमा नयाँ लुगा लगाउने, आफ्नो क्षमता अनुसार मिठो कुरा खाने, घर आँगन तथा वस्ती सरसफाइ तथा रंगरोगन गर्ने प्रचलन पनि छ । दशैं पर्वले काम, क्रोध, लोभ, मोह, अहंकार, आलस्य, हिंसा र चोरी आदि त्याग्ने सत्प्रेरणा दिने विश्वास गरिन्छ ।

सत्ययुगमा देवीले महिषासुर र त्रेता युगमा रामले असत्यको प्रतीक रावणमाथि आजकै दिन विजय प्राप्त गरेकाले साेही समयदेखि विजयादशमी मनाउन थालिएको धार्मिक विश्वास छ । आजकै दिन मौर्यसम्राट् अशोकले शस्त्रास्त्र परित्याग गरेकाले बौद्धहरु शस्त्रपरित्याग दिवस मनाउँछन् ।


113
Shares

प्रतिक्रिया दिनुहोस !