ढुक्क भएर नेपालमा लगानी गर्न अमेरिकी लगानीकर्तालाई अर्थमन्त्रीको आग्रह
काठमाडाैं । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालको सूचना प्रविधि उद्योगमा लगानी गर्न अमेरिका चेम्बर अफ कमर्सका प्रतिनिधिहरूलाई आग्रह गर्नुभएकाे छ ।
विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा सहभागी हुन अमेरिकाको वासिङ्टन डिसीमा रहनुभएका उपप्रधानमन्त्री ए पौडेलले शुक्रबार अमेरिका चेम्बर अफ कमर्सका प्रतिनिधिहरुसँग भएको राउण्डटेवल बैठकमा त्यस्ताे आग्रह गर्नुभएकाे हाे ।
उहाँले अमेरिकी व्यवसायीलाई नेपालको अर्थतन्त्रका सम्भावित विभिन्न क्षेत्रमा लगानी गर्न आह्वान गर्नुभयाे । नेपालले उचित मूल्यमा हजारौं राम्रो प्रशिक्षित र प्रतिष्पर्धी आईटी जनशक्ति उपलब्ध गराएकाे भन्दै उहाँले नेपालको आईटी क्षेत्रको अपार सम्भावनाबारे जानकारी गराउनुभयाे । नेपालमा अन्य मुलुकको तुलनामा लगानीकर्ताको लागि सस्तो र गुणस्तरीय सूचना प्रविधि सम्बद्ध जनशक्ति उपलब्ध रहेको भन्दै अर्थमन्त्री पाैडेलले ढुक्क भएर लगानी गर्न आग्रह गर्नुभयाे ।
नेपालको लगानीको वातावरणमा केन्द्रित रहेको बैठकमा एफएनसीसीआईका अध्यक्ष चन्द्र ढकाल, गुगल, मेटा, मेटलाइफ, कोकाकोला, वाल्ट डिज्नी, टेस्ला हाइड्रोपावर, कार्की कन्सल्टिङ ग्रुपका प्रतिनिधिहरुको सहभागिता थियो ।
अर्थमन्त्री पाैडेल विश्व बैंक र कोलम्बिया सरकारद्वारा शुक्रबार नै वासिङ्टन डिसीमा आयोजना भएको जैविक विविधता र प्रकृति वित्तसम्बन्धी उच्चस्तरीय मन्त्रीस्तरीय बैठकमा सहभागी हुनुभएको छ । बैठकमा बोल्दै उपप्रधानमन्त्री पाैडेलले जलवायु परिवर्तनका कारण नेपालको जैविक विविधता र प्रकृति संरक्षणका प्रयासमा प्रतिकूल असर पारेकाले नेपालले भोग्नुपरेको गम्भीर चुनौतीबारे प्रकाश पार्नुभयाे । यस पृष्ठभूमिमा उहाँले नेपाल जस्ता देशलाई प्रकृतिको राम्रोसँग संरक्षण गर्न वातावरणसम्बन्धी अन्तर्राष्ट्रिय कोषमा सहज पहुँचका लागि आह्वान गर्नुभयाे ।