विश्वकप लिग-२ : अमेरिका स्कटल्याण्डसँग १० विकेटले पराजित
काठमाडाैं । आईसीसी विश्वकप क्रिकेट लिग-२ मा अमेरिका स्कटल्याण्डसँग पराजित भएको छ ।
अमेरिकाकाे डालामा शुक्रबार राति भएकाे उद्घाटन खेलमा घरेलु टाेली स्कटल्याण्डसँग १० विकेटले पराजित भएकाे हाे ।
अमेरिकाले दिएको १ सय ४५ रनको लक्ष्य स्कटल्याण्डले २४ ओभर ५ बलमा बिना विकेटकाे क्षतिमा पूरा गर्याे । स्कटल्याण्डका लागि आन्द्रे उमिदले नटआउट ९८ र चार्ली टिमयरले नटआउट ४३ रन बनाए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङकाे निम्ताे पाएकाे अमेरिकाले ३८ ओभर ४ बलमा अलआउट हुँदै १ सय ४४ रन बनाएको थियो । अमेरिकाका लागि स्याड्ली भान श्यालवाएकले ५८, हर्मित सिंहले २२ र नोसथुस केन्जिगेले २१ रन बनाउनु बाहेक अन्य ब्याटस्म्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
स्कटल्याण्डका लागि ब्राड करीले ४, ब्रान्डेन म्याकमुलेनले ३ तथा ब्राड ह्विलले २ विकेट लिए ।
जितपछि स्कटल्याण्ड ८ खेलबाट ११ अंक जोडेर अंक तालिकाकाे चौथो स्थानमा उक्लिएको छ । पराजित अमेरिका ९ खेलबाट १२ अंकसहित अंक तालिकाकाे दोस्रो स्थानमा छ ।
लिग-२ काे त्रिकाेणात्मक एकदिवसीय सिरिजमा नेपाल, अमेरिका र स्कटल्याण्ड सम्मिलित छन् । नेपालले भाेलि आइतबार अमेरिकासँग खेल्दै लिग-२ सिरिजकाे सुरुआत गर्नेछ । नेपालले दोस्रो खेलमा आगामी मंगलबार स्कटल्याण्डसँग, तेस्रो खेलमा कात्तिक १७ गते अमेरिकासँग र चौथो तथा यस सिरिजको अन्तिम खेलमा स्कटल्याण्डसँग कात्तिक १९ गते खेल्नेछ ।
आईसीसी विश्वकप क्रिकेट लिग-२ मा नेपाल ८ खेलमा ३ अंकसहित अंक तालिकाको सातौं स्थानमा छ । लिग-२ को शीर्ष स्थानमा रहेको क्यानडाको १२ खेलमा १६ अंक छ ।