९ मंसिर २०८१, आईतवार
  • हाम्रो बारेमा
  • विज्ञापन

प्रचण्ड र माधव नेपालहरुको आउँदो चुनावमा शून्य सिट

प्रकाशित मिति :  ६ बैशाख २०७८, सोमबार १२:१०


काठमाडौं । नेकपा एमाले सम्वद्ध नेपाल खेलकूद महासंघले एक करोडलाई सदस्यता दिने भएको छ । पहिलो चरणमा सो संगठनले १२ लाख सदस्य पुराउने भएको छ ।

सो संघको मंगलबारबाट हुने पहिलो कार्यकर्ता भेलाको प्रधानमन्त्री केपी शर्मा आलोले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । ‘खेलकूद नागरिकको मौलिक अधिकार, समृद्धिका लागि जनस्वास्थ्य हाम्रो सरोकार’ भन्ने नाराका साथ भेला आयोजना हुन लागेको हो ।

महासंघका संयोजक रमेश पौडेलले पहिलो चरणमा १२ लाखलाई सदस्यता दिन लागिएको जानकारी दिनुभएको हो । उहाँले आउँदो चुनावमा प्रचण्ड गुटलाई शून्य सिटमा सीमित बनाउन खेलकुद महासंघको ठूलो भूमिका हुने बताउनुभयो । उहाँले भन्नुभयो– एमालेलाई जजसले सिध्याउँछौं भन्दैछन्, तिनले शून्य सिट ल्याउने छन्, प्रचण्ड र माधव नेपालहरुले देशभरबाट एक सिट पनि जित्नेवाला छैनन् ।

राष्ट्रिय भेलाबारे जानकारी दिन सोमबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार सम्मेलनमा देशभरीबाट एक हजार भन्दा धेरै प्रतिनिधि सहभागी हुनेछन् ।

महासंघका नेता प्रभातविक्रम कटुवालले बताउनुभए अनुसार यो महासंघले आउँदो आमचुनावमा एमालेलाई देशको नम्बर एक पार्टी बनाउने लक्ष्य राखेको छ ।

पत्रकार सम्मेलनमा जनपरिचालन समितिका संयोजक पर्शुराम बस्नेतले भेलाबाट नयाँ कार्यसमिति चयन हुने जानकारी दिनुभयो ।

कटुवालले राजनीतिमा लागेका व्यक्तिहरुले खेल गतिविधिका माध्यमबाट पनि देश र समाजको सेवा गर्नुपर्ने बताउनुभयो । संयोजक रमेश पौडेलले खेलकुद महासंघलाई विभाजित गर्ने उद्देश्यले केही व्यक्तिले गतिविधि गरेको र उनीहरु माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका अवैद्य राजनीतिक सन्तान हुन् भन्नुभयो ।

एमालेले ०६६ सालमा खेलकुद महासंघ स्थापना गरेको थियो । माओवादीसँग एकीकरण भएपछि यो महासंघ निष्क्रिय प्राय थियो । माओवादीसँगको एकता भंग भएपछि महासंघले पुन गति लिन थालेको हो ।

मदन भण्डारीको जनताको बहुदलीय जनवादलाई प्रमुख आदर्श मान्ने खेलकुद महासंघले वामपन्थी विचार धाराको विकास र विस्तारमा समेत योगदान दिँदै आएको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

-आइएनए न्युज एजेन्सी


0
Shares

प्रतिक्रिया दिनुहोस !