२४ माघ २०८१, बिहीबार
  • हाम्रो बारेमा
  • विज्ञापन

आजबाट नेपाल संवतको ११४५ आरम्भ

प्रकाशित मिति :  १७ कार्तिक २०८१, शनिबार १०:१४


काठमाडौं । आजबाट नेपाल संवत् ११४५ प्रारम्भ भएको छ ।

नेपाल संवत् नेपालमा प्रचलित नेपालको मौलिक राष्ट्रिय संवत् हो । नेपाल संवतका प्रवर्तक शंखधर साख्वाः हुनुहुन्छ । उहाँले नेपालका विपन्न जनताको ऋण तिरेर ऋणमुक्त बनाएको दिनको सम्झनामा यो संवत् थालिएको हो ।

भक्तपुरका राजा राघवदेवको आज्ञामा विसं ९३६ र सन् ८७९ अक्टोबर २० का दिनदेखि यो संवत सुरुवात भएको थियो । नेपालमा औपचारिक रूपले यो संवत् चन्द्र शमशेरको कार्यकालसम्म प्रचलनमा रह्यो ।

पहिलो ज्योतिषका अनुसार शंखधरले घरमा ल्याएको बालुवा चार दिनपछि सुनमा परिणत भएको थियो । त्यो सुन उहाँले ऋणमा डुबेका गरिब जनतालाई बाँडेर जनताले आफ्नो ऋण तिरेको भन्ने भनाइ छ ।

अर्को किंवदन्ती अनुसार शंखधर  धनी व्यापारी हुनुहुन्थ्यो । उहाँका साथीहरू पनि व्यापारी थिए । साथीहरूलाई शंखधरको व्यापारप्रति डाह भयो । उनीहरूले जालसाजी गरेर राजालाई यसले अनैतिक व्यापार गरेको छ भनी पोल लगाइदिए । यो उजुरीपछि राजाले शंखधरको सम्पत्तिमाथि अतिक्रमण गरे । यसबाट विचलित शंखधर जोगी जस्तै भएर हिँड्न थाल्नुभयो । पछि राजाले खोजतलास गर्दा अनैतिक नभएको पत्ता लाग्यो । राजाले पश्चताप गर्दै तिमी इमानदार रहेछौ, तिम्रो सम्पत्ति फिर्ता लैजाऊ भने ।

गुमिसकेको पैसा र सम्पत्ति फिर्ता पाएका शंखधरले ऋणमा डुबेका जनतालाई सहयोग गर्नुभयो । सबै जनताको ऋण मोचन भयो । त्यस आधारमा पनि नेपाल संवत् चलेको भनाइ छ  ।

नेपाल संवत प्रचलनमा ल्याउने शंखधर साख्वालाई सरकारले राष्ट्रिय विभूति घोषणा गरेको छ भने नेपाल संवतलाई राष्ट्रिय संवतको मान्यता दिएको छ । नेपाल संवत्को नयाँ वर्ष सुरु भएको अवसरमा आज देश भरी विभिन्न कार्यक्रम आयोजना गरिँदै छ ।


113
Shares

प्रतिक्रिया दिनुहोस !