१० चैत्र २०८२, मंगलबार
  • हाम्रो बारेमा
  • विज्ञापन

सरकारमा भएको कारण तारिफ गरेको होइन, केपी ओलीले राम्रो काम गर्नुभएको छ : शेरबहादुर देउवा

प्रकाशित मिति :  2 November, 2024 12:16 pm


काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकाको कामको समीक्षा गर्ने बेला नभएको बताउनुभएको छ ।

नेपाली कांग्रेस भक्तपुरले भक्तपुरमा आयोजना गरेको शुभकामना आदानप्रदान तथा जय नेपाल भक्तपुर स्मारिका लोकार्पण कार्यक्रममा बोल्दै देउवाले सरकारले काम सुरु गरेको बल्ल एक सय दिन पुगेकोले कामको समीक्षा वा आलोचना गर्ने बेला नभएको बताउनुभयो । ‘सय दिन पछिको कामको सम्बन्धमा आलोचना, प्रत्यालोचना सबै कुरा हुन्छ’, देउवाले भन्नुभयो ।

यतिबेला कांग्रेस र एमालेको संयुक्त सरकार रहेको र केपी ओली प्रधानमन्त्री भएको उहाँले स्मरण गराउनुभयो । ‘काम पनि राम्रो गर्नुभयो, सरकारमा भएको कारण मैले उहाँको तारिफ गरेको होइन कि, काम पनि राम्रो गर्नुभएको छ, त्यस कारण मलाई विश्वास छ, उहाँले यस्तै राम्रा कामहरू गर्दै जानुहुने छ’, देउवाले भन्नुभयो ।

नेपाल ठुला दुई देशको बिचमा भएको बताउँदै देउवाले शक्ति सन्तुलनमा रहेर काम गर्नुपर्छ भन्ने कुरा ओलीले राम्रोसँग बुझ्नु भएको बताउनुभयो । त्यसलाई बुझेर ओलीले काम गर्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

प्रजातन्त्रमा आलोचना हुनु स्वाभाविक भएको बताउँदै देउवाले सोही प्रक्रिया अन्तर्गत नै विपक्षीले ओलीको आलोचना गरेका बताउनुभयो । आलोचना प्रति पनि गम्भीर भएर सकारले काम गर्ने देउवाको विश्वास छ ।

अहिले दुईवटा पार्टीको सरकार भएको बताउँदै देउवाले यो सरकारलाई पुरा समय काम गर्ने गरी सफल बनाउन सबैले लाग्नु पर्ने बताउनुभयो । समस्या विहीन ठाउँ नभएको बताउँदै देउवाले सरकार र पार्टीमा पनि समस्या आउने कुरा स्वाभाविक भएको स्पष्ट पार्नुभयो । उहाँले त्यस्ता समस्यालाई समाधान गर्दै अघि बढ्नु पर्नेमा जोड दिनुभयो । ‘समस्या समाधानको लागि सबैको सहयोग हुने छ भन्ने विश्वास व्यक्त गर्दछु’, देउवाले भन्नुभयो ।


113
Shares

प्रतिक्रिया दिनुहोस !