नेपालको जस्तो संस्कार र संस्कृति दुनियाँमा काहीँ छैन : प्रधानमन्त्री केपी ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली संस्कृतिको आफ्नै मौलिक पहिचान रहेको बताउनुभएको छ ।
नेपाल संवत् ११४५ प्रारम्भको अवसरमा शनिबार बिहान भक्तपुरमा नेपाल संवतका प्रवर्तक राष्ट्रिय विभूति शंखधर साख्वाः को प्रतिमामा माल्यार्पण कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले नेपालमा आफ्नै संस्कार, संस्कृति र नृत्यहरू भएको बताउनुभयो । ‘यस्तो दुनियाँमा काहीँ पनि छैन, यहाँ मात्रै हो, देवतै पिच्छेका, देवता पनि हामीसँग त ३३ कोटी छन्’, ओलीले भन्नुभयो ।
ओलीले ३३ कोटी देवताकै नाममा गीत र नृत्य भएका बताउनुभयो । यसले गीत, नाच, धुन र चाडपर्वमा विविधता ल्याएको उहाँले स्पष्ट पर्नुभयो । त्यसैले नेपाली संस्कार र संस्कृतिलाई जीवित राख्ने मात्र होइन फैलाउनु पर्नेमा उहाँले जोड दिनुभयो ।
यसलाई फैलाउन सरकारको तर्फबाट पनि प्रयास भइरहेको उहाँले बताउनुभयो । नेवारी भाषामा सरकारी सञ्चारमाध्यमबाट समाचार प्रसारण लगायतका काम हुने त्यसकै उदाहरण भएको ओलीले स्पष्ट पार्नुभयो । नेपाली भाषा संस्कार र संस्कृतिलाई जोगाउने कुरामा आफू साथमा रहेको उहाँले बताउनुभयो ।