८ मंसिर २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

रास्वपाको विरोध प्रदर्शनमा प्रहरी हस्तक्षेपको आरोप

प्रकाशित मिति :  २१ कार्तिक २०८१, बुधबार १३:३२


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई सहकारी ठगीमा पक्राउ गरिएको विरुद्ध  कास्कीको पोखरामा मंगलबार गरिएको प्रदर्शनमा प्रहरीले अनावश्यक बल प्रयोग गरी  प्रदर्शन बिथोल्ने प्रयत्न गरेको भन्दै सो पार्टीले विरोध जनाएको छ ।

पार्टीका कार्यवाहक प्रवक्ता मनिषकुमार झाले विज्ञप्ति जारी गरेर पोखरामा प्रहरीले लाठीचार्ज तथा अश्रुग्याँस प्रहार गरी प्रदर्शनमा सहभागी १५ जनालाई गिरफ्तार गरेको उल्लेख गर्नुभएको छ ।

संसदीय छानबिन समितिले अनुसन्धान गरी सहकारीको बचत अपचलनमा पार्टी सभापति लामिछानेको संलग्नता नरहेको स्पष्ट पारे पनि सरकारले सहकारी ठगीसहित संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा समेत अनुसन्धान अगाडि बढाएको सो पार्टीको आरोप छ । ‘हिरासतमा राखेर अनुसन्धान गर्नुपर्ने आधार र कारण नभए पनि एकपछि अर्को म्याद थप्दै पार्टी सभापति लामिछानेको हिरासत बसाई लम्ब्याउने प्रतिशोधपूर्ण प्रयास भइरहेकाप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ, तसर्थ हिरासत बाहिर रहेर पनि अनुसन्धान गर्न सकिने कानुनी प्रबन्धको कार्यान्वयनका लागि पनि सम्बद्ध सबैको ध्यानाकर्षण गराउँछौँ’, विज्ञप्तिमा उल्लेख छ ।

आन्दोलनको समाचार सङ्कलन गर्न गएका पत्रकार राजकुमार माझी लगायतलाई प्रहरीले हातपात गरी र क्यामरा लगायतका सञ्चार सामग्री तोडफोड गरेको आरोप झाले लगाउनुभएको छ । आज अपराह्न ४ बजे मानवअधिकार चोक पोखरा लगायत देशका विभिन्न जिल्लामा विरोध कार्यक्रम यथावत् रहने पनि विज्ञप्तिमा उल्लेख छ ।


113
Shares

प्रतिक्रिया दिनुहोस !