पार्टीविरुद्ध लाग्ने स्थानीय जनप्रतिनिधिलाई पनि एमालेको कारबाही
रामेछाप । नेकपा एमालेले पार्टी हित विपरित काम गर्ने स्थानीय तहका जनप्रतिनिधिलाई पनि कारबाही गर्ने भएको छ ।
नेकपा एमाले रामेछापले बुधबार पत्रकार सम्मेलन आयोजना गरी पार्टीनिर्देशन विपरित समानान्तर गतिविधिमा लाग्ने स्थानीय तहका जनप्रतिनिधिलाई कारबाही गर्ने जनाएको छ । पत्रकार सम्मेलनमा एमाले रामेछापका अध्यक्ष आनन्द श्रेष्ठले नेता कार्यकर्तालाई पार्टी विखण्डन गर्ने खालका क्रियाकलाप नगर्न चेतावनी दिनुभयो ।
पार्टीको छाप र चिन्ह दुरुपयोग गरी विभिन्न बैठक, भेला तथा कमिटी गठन गरिएकोमा उहाँले आपत्ति जनाउनुभयो । ‘यो कार्य हामीलाई स्वीकार्य हुँदैन’– उहाँले भन्नुभयो ।
नेकपा स्थापना दिवसको दिन कार्यक्रम गर्ने भनि माधव गुटले गरेको प्रचारका पछि नलाग्न पनि उहाँले आग्रह गर्नुभयो । रामेछापमा पार्टीको स्थापना दिवसको दिन एमालेले तीन लाल पार्क (गंगालाल श्रेष्ठ, पुष्पलाल श्रेष्ठ र कृष्णलाल श्रेष्ठ) मा औपचारिक कार्यक्रम आयोजना गरेको उहाँले बताउनुभयो ।
स्थानीय तहका जनप्रतिनिधिको गतविधिलाई पार्टीले हेरिरहेको उहाँले बताउनुभयो । केही जनप्रतिनिधिहरु पार्टी नीति विपरितको क्रियाकलापमा संलग्न भएकाले उनीहरुमाथि कारबाहीको प्रक्रिया अघि बढ्ने समेत उहाँले बताउनुभयो ।
‘स्थानीय तहका जनप्रतिनिधिलाई कारबाही गर्ने अधिकार जिल्ला कमिटीलाई छ, उहाँहरुको गतिविधि सच्चिएन भने हामी कारबाही प्रक्रिया थाल्छौं’– उहाँले भन्नुभयो ।
पत्रकार सम्मेलनमा जिल्ला पार्टी सचिव पुरुषोत्तम कँडरियाले नेकपा एमाले एउटा मात्र पार्टी भएको र त्यसको नेतृत्व केपी शर्मा ओलीले गरिरहनु भएकाले भ्रममा नपर्न सबैलाई आग्रह गर्नुभयो ।
-आइएनए न्युज एजेन्सी