२२ कार्तिक २०८१, बिहीबार
  • हाम्रो बारेमा
  • विज्ञापन

लीलाबल्लभ अधिकारीको विषयमा छानबिन गर्न माओवादी केन्द्रले माग

प्रकाशित मिति :  २२ कार्तिक २०८१, बिहीबार १७:२१


काठमाडौं । मन्त्रिपरिषद्‌बाट भ्रमण स्वीकृत नगरी जापान जाँदा विमानस्थलबाट नै फर्कनु परेपछि पदबाट राजीनामा दिएका कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री लीलाबल्लभ अधिकारीको विषयमा छानबिन गर्न नेकपा माओवादी केन्द्रले माग गरेको छ ।

नेकपा माओवादी केन्द्र संसदीय दल कोशीले निवर्तमान मन्त्री अधिकारीको जापान भ्रमण प्रकरणका विषयमा छानबिन गर्न माग गरेको हो । माओवादीले सो प्रकरणमा मानव तस्करी तथा सरकारी कागजात किर्तेलगायतका विषयमा जोडिएकाले छानबिन गर्न माग गरेको हो । माओवादी कोशी प्रदेश संसदीय दलका सचेतक गीता तिमल्सिनाले विज्ञप्ति जारी गर्दै सो विषयमा पार्टीको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्नुभएको छ ।

कूटनीतिक मर्यादाको उल्लङ्घन गर्दै प्रदेश सरकारको मन्त्री विदेश भ्रमणमा जानु र मानव तस्करी जस्तो गम्भीर अपराधमा संलग्न हुनुले सिङ्गो प्रदेशवासीको शिर निहुरिएको विज्ञप्तिमा जनाइएको छ । सामान्य प्रक्रियासमेत पूरा नगरी मन्त्री विदेश भ्रमणमा जाँदा मुख्यमन्त्री र प्रदेश सरकार कसरी बेखबर रहे ? भन्दै विज्ञप्तिमा प्रश्न गरिएको छ ।

सो विषयलाई लिएर विवादमा परेपछि मन्त्री अधिकारीले बुधबार पदबाट राजीनामा दिइसक्नु भएको छ । उहाँले बुधबार पत्रकार सम्मेलनको आयोजना गरी राजीनामा घोषणा गर्नुभएको थियो ।

मन्त्रीहरूले विदेश भ्रमणमा जाँदा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत परराष्ट्र मन्त्रालयको सहमति लिनुपर्ने व्यवस्था छ । विदेश भ्रमणको सहमतिका लागि परराष्ट्र मन्त्रालयमा लेखिपठाउँदा प्रदेश मन्त्रिपरिषद्को निर्णयसहित पठाउनुपर्ने व्यवस्था छ । तर, मन्त्रिपरिषद्को निर्णय बिना नै जापान पुग्नुभएका अधिकारीलाई त्यहाँको अध्यागमनले फर्काएको थियो ।

अधिकारी गत कात्तिक १३ गते त्यसतर्फ प्रस्थान गर्नुभएको थियो । तर उहाँ र उहाँसँग गएका अन्य मानिसहरू माथि शङ्का लागेपछि अध्यागमनले रोकेको थियो ।


0
Shares

प्रतिक्रिया दिनुहोस !