२९ कार्तिक २०८१, बिहीबार
  • हाम्रो बारेमा
  • विज्ञापन

निवर्तमान मन्त्री लीलाबल्लभ अधिकारीलाई एमालेले गर्‍यो पार्टीको साधारण सदस्यबाटै निलम्बन

प्रकाशित मिति :  २४ कार्तिक २०८१, शनिबार १७:४४


काठमाडौं । मानव तस्करीमा संलग्न भएको आरोप लागेका नेकपा एमालेको तर्फबाट मोरङ जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं २ को प्रदेश सभा निर्वाचन क्षेत्र (ख) बाट निर्वाचित काेशी प्रदेश सभा सदस्य लीलाबल्लभ अधिकारीलाई एमालेले पार्टीको साधारण सदस्यबाट समेत निलम्बन गरेको छ ।

प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्रीमा बहाल रहँदा अधिकारीले मन्त्रीको हैसियतमा केही दिन अगाडी वैदेशिक भ्रमण सम्बन्धी आवश्यक मापदण्ड तथा प्रक्रियाहरूको बेवास्ता गरी पदीय मर्यादा विपरीत जापानको भ्रमण गर्नु भएकोको कारण पार्टी सदस्यबाट निलम्बन गरेको नेकपा एमालेले जनाएको छ ।

नेकपा एमाले कोशी प्रदेशका अध्यक्ष घनश्याम खतिवडाले शनिबार विज्ञप्ति जारी गरी उहाँलाई पार्टी र संसदीय दलको तर्फबाट मन्त्री पदबाट राजीनामा गराइसकिएको अवस्थामा उहाँको भ्रमणसँग जोडिएका भ्रमण दलका सदस्यहरू पक्राउ परि अनुसन्धान भइरहेको अवस्थामा निवर्तमान मन्त्री माथि मानव तस्करीको गम्भीर आरोप लगाएर विभिन्न सञ्चार माध्यम र सामाजिक सञ्जालहरूमा नेकपा एमाले माथि समेत गम्भीर आरोप लगाउँदै अन्य गम्भीर प्रकृतिका अनियमितताका घटनालाई ढाकछोप वा हल्का बनाउने प्रयास भइरहेको कुराले पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाउनुभएको छ ।

नेकपा एमाले अविचलित रूपमा कानुनी शासनको पक्षमा उभिँदै आएको जिम्मेवार पार्टी भएको नाताले उहाँले गर्नुभएको भ्रमणसँग जोडिएर लागेको मानव तस्करी जस्तो गम्भीर आरोपका सम्बन्धमा शीघ्र छानबिन तथा गहिरो अनुसन्धान गरी सत्य तथ्य सार्वजनिक गर्न नेपाल सरकार र सम्बन्धित निकायको खतिवडाले ध्यानाकर्षण गराउनुभएको छ । ‘अधिकारीलाई उपरोक्त आरोपको अन्तिम निरुपण नभए सम्मको लागि पार्टीको कुनै पनि तहमा रहन नपाउने गरी वहाँलाई राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् सदस्य तथा नेकपा एमालेको सङ्गठित सदस्यताबाट समेत निलम्बन गरिएको जानकारी गराइन्छ’, विज्ञप्तिमा उल्लेख छ ।


339
Shares

प्रतिक्रिया दिनुहोस !