२९ कार्तिक २०८१, बिहीबार
  • हाम्रो बारेमा
  • विज्ञापन

कोशी प्रदेशका पूर्वमन्त्री लीलाबल्लभ अधिकारी प्रहरी नियन्त्रणमा, आजै काठमाडौं ल्याइँदै

प्रकाशित मिति :  २५ कार्तिक २०८१, आईतवार १३:३२


काठमाडौं । कोशी प्रदेशका पूर्वमन्त्री लीलाबल्लभ अधिकारीलाई प्रहरीले आइतबार नियन्त्रणमा लिएको छ ।

मानव तस्करीको विवादमा जोडिनुभएका अधिकारीलाई नियन्त्रणमा लिई प्रहरीले काठमाडौं ल्याउन लागेको हो । उहाँलाई अनुसन्धानका लागि काठमाडौं ल्याउन लागिएको प्रहरीले जनाएको छ ।

सरकारलाई जानकारी नगराई जापान पुग्नुभएका अधिकारी माथि मानव तस्करीमा संलग्न भएको आरोप लागेको छ । नेकपा एमालेको तर्फबाट मोरङ जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं २ को प्रदेश सभा निर्वाचन क्षेत्र (ख) बाट कोशी प्रदेश सभा सदस्य निर्वाचित अधिकारीले जापानबाट फर्कने बित्तिकै विवादमा परेपछि प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्री पदबाट राजीनामा दिनुभएको थियो ।

उहाँलाई शनिबार मात्रै नेकपा एमालेले साधारण सदस्यबाट समेत निलम्बन गरी आवश्यक अनुसन्धान गर्न सम्बन्धित निकायलाई अनुरोध गरेको थियो । जापानको एउटा कार्यक्रममा सहभागी हुन भनि जानुभएका अधिकारीलाई त्यहाँको अध्यागमन कार्यालयले विमानस्थलबाट नै नेपाल फर्काइदिएको थियो । कात्तिक ११ गते जापानका लागि उड्नु भएका अधिकारी कार्यक्रममा सहभागी हुन नपाई कात्तिक १६ गते नेपाल फर्कनु भएको थियो ।

उहाँसँगै जापान पुगेका अन्य तीन जना शङ्कास्पद व्यक्तिलाई प्रहरीले नेपाल फर्कने बित्तिकै नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । भ्रमण दलको सदस्य भन्दै नक्कली कागजात बनाएर अधिकारीसँगै जापान पुगेका खोटाङका जनक राई, दावा शेर्पा र रसुवाका कञ्चन देवकोटा माथि प्रहरीले अनुसन्धान भइरहेको छ । थप अनुसन्धानका लागि अधिकारीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको हो ।


226
Shares

प्रतिक्रिया दिनुहोस !