ईश्वर पोखरेल नेतृत्वको एमाले टोली चीन प्रस्थान
काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल नेतृत्वको टोली त्यस तर्फ प्रस्थान गरेको छ ।
एमालेको १५ सदस्यीय प्रतिनिधिमण्डल मंगलबार चीन प्रस्थान गरेको हो । प्रतिनिधिमण्डलमा एमाले सचिव लेखराज भट्ट, स्थायी कमिटी सदस्य गोरखबहादुर बोगटी, केन्द्रीय सदस्य सम्झना देवकोटा, सरिता भुसाल, शान्ति ढकाल लगायत हुनुहुन्छ ।
पोखरेलले चीनको नानजिङगमा आयोजना हुने ‘दोस्रो ग्लोबल साउथ थिन्क ट्याङ्क फोरम’ लाई सम्बोधन गर्ने कार्यक्रम छ । कार्यक्रममा नेपालबाट गएको टोलीले सहभागिता जनाउने छ ।
टोली चीनको जाङ्सु, उहान, बेइजिङलगायत स्थानमा आयोजना हुने औपचारिक कार्यक्रमहरूमा सहभागी भएर मङ्सिर ६ गते स्वदेश फर्कनेछ ।
एमालेको टोलीलाई रक्षा मन्त्री मानवीर राई, संगठन विभाग प्रमुख काशीनाथ अधिकारी, केन्द्रीय कार्यालय सचिव डा.भीष्म अधिकारी, विदेश विभाग सदस्य गोपाल खनाल लगायतले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा बिदाइ गर्नुभएको थियो ।