रास्वपाले नयाँ आन्दोलन घोषणाका लागि बाेलाएको पत्रकार सम्मेलन स्थगित
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सहकारी ठगी प्रकरणमा पार्टी सभापति रवि लामिछानेलाई पक्राउ गरेको विरुद्ध दोस्रो चरणको आन्दोलनको घोषणाको लागि आयोजना गर्न लागेको पत्रकार सम्मेलन स्थगित गरेको छ ।
आज दिउँसो गर्ने भनिएको पत्रकार सम्मेलन अर्को सूचना नआएसम्मका लागि स्थगित गरेको सो पार्टीले जनाएको छ । आज पार्टी कार्यालय वनस्थलीमा दुई बजे पत्रकार सम्मेलन बोलाइएको थियो । पत्रकार सम्मेलन विशेष कारणवश स्थगित भएको रास्वपा कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिनुभयो ।
सहकारीको रकम ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा पार्टी सभापति रवि लामिछानेमाथि अनुसन्धान जारी छ । लामिछानेलाई अदालतको आदेशमा प्रहरीले हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ ।
रास्वपाले भने लामिछानेलाई राज्यले प्रतिशोधका लागि पक्राउ गरेको भन्दै सडक आन्दोलन गर्दै आएको छ । आज पनि भैरहवामा रास्वपाको प्रदर्शन जारी छ । लामिछानेको जिल्ला सरकारकारी वकिलको कार्यालय रुपन्देहीमा लिखित बयान जारी छ ।