कर्णाली अब पहिलाको जस्तो छैन : प्रधानमन्त्री केपी ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा दिइने थलो बनाउने बताउनुभएको छ ।
प्रतिष्ठानको प्रथम दीक्षान्त समारोहलाई बुधबार सम्बोधन गर्दै प्रतिष्ठानका कुलपति समेत रहनुभएका ओलीले सो प्रतिष्ठानका कारण कर्णालीका जनताले आफ्नै ठाउँमा गुणस्तरीय स्वास्थ्य सुविधा पाउन थालेका बताउनुभयो । राकम कर्णालीमा सय शय्याको अस्पताल बनाउने प्रक्रिया सुरु भइसकेको उहाँले जानकारी दिनुभयो ।
प्रधानमन्त्री ओलीले प्रतिष्ठानमा आवश्यक सेवा, सुविधामा उपलब्ध नेपाल सरकार प्रतिबद्ध रहेको बताउनुभयो । प्रतिष्ठानको परिकल्पनादेखि आफू जानकार रहेको र यसका सम्भावना चुनौती बारे पनि आफू अवगत रहेको ओलीले बताउनुभयो ।
चुनौतीका बिचमा पनि विगतमा आफू प्रधानमन्त्री हुँदा चिकित्सा शिक्षा आयोगको बैठकबाट स्वीकृति गराएर प्रतिष्ठानमा चिकित्सा कक्षा सञ्चालन भई पहिलो दीक्षान्तसम्म आइपुगेको ओलीले बताउनुभयो । उहाँले दीक्षित विद्यार्थीहरूलाई हरेक क्षेत्रमा सफलता हासिल गरी नयाँ कीर्तिमान कायम गर्न शुभकामना दिनुभयो ।
चिकित्सा शास्त्रका विद्यार्थीसँग देश, समाज र अभिभावकले ठुलो आशा र विश्वास गरेको उहाँले बताउनुभयो । ‘अभिभावकको लगानी, आशा र विश्वासका साथै तपाईँहरूको मेहनत र लगावका कारण आज यो सफलता हासिल भएको छ, यस सफलतालाई दूरदराजका जनताको गुणस्तरीय स्वास्थ्य सेवा दिन लाग्नुहोस्’, उहाँले भन्नुभयो ।
ओलीले अब कर्णाली पहिलाको जस्तो नभएको पनि बताउनुभयो । ‘म खुसी व्यक्त गर्न चाहन्छु, कर्णाली अगाडि बढ्दै छ, कर्णाली र सुदूरपश्चिमका समेत गरी १३ जिल्लाका जनताले यहाँबाट स्वास्थ्य सेवा पाउनु असम्भव जस्तै ठानिएको सपना पूरा भएको अवसर हो, अब यसलाई थप प्रभावकारी रूपमा सञ्चालन गर्नु हामी सबैको दायित्व हो’, उहाँले भन्नुभयो ।
संयुक्त राज्य अमेरिकाको हार्वड मेडिकल कलेज सेन्टर फर प्राइमरी केयर र सिस्टम स्ट्रेन्थेनिङका निर्देशक प्राडा क्रिस्टिन मसेङ्गर प्रमुख अतिथि रहनुभएको कार्यक्रममा जनस्वास्थ्य, नर्सिङ र चिकित्सा शास्त्र विषयमा स्नातक र स्नातकोत्तर तहमा अध्ययन पूरा गरेका ५८ विद्यार्थीलाई दीक्षित भएका छन् । समारोहमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेल, चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्राडा अञ्जनीकुमार झालगायत सहभागी हुनुहुन्छ ।