बैकुण्ठ अर्यालद्वारा राजीनामा
काठमाडाैं । नेपाल सरकारका पूर्व मुख्यसचिव डा. बैकुण्ठ अर्यालले राजीनामा दिनुभएकाे छ ।
राष्ट्रिय योजना आयोगमा मुख्य सचिव सरहको जिम्मेवारी तोकिएका अर्यालले साेमबारबाट लागू हुनेगरी राजीनामा दिनुभएकाे बताइएकाे छ । अर्याल विरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएपछि मन्त्रिपरिषद्ले राष्ट्रिय योजना आयोगमा विशिष्ट श्रेणीको पद सिर्जना गरेर उहाँलाई सरुवा गरेको थियो ।
भ्रष्टाचार मुद्दामा मुछिएका अर्यालले कात्तिक १४ गते सफाइ पाउनुभएकाे थियाे । त्यसपछि उहाँ आइतबार कार्यालयमा हाजिर हुनुभएकाे थियाे । हाजिर भएकै भाेलिपल्ट उहाँले मुख्यसचिव एकनारायण अर्यालको सचिवालयमा राजीनामा बुझाउनुभएकाे बताइएकाे छ ।
अन्तःशुल्क स्टिकर छपाइमा भएको भ्रष्टाचारमा संलग्न भएको आरोपमा गत असार ९ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको थियाे । विशेष अदालतले सफाइ दिएपछि उहाँको निलम्बन फुकुवा भएको थियो ।