जो बाइडेनले भित्राएका लाखौं अवैध आप्रवासीलाई फिर्ता पठाउँछु– डोनाल्ड ट्रम्प
वासिङ्टन । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले सीमा सुरक्षामा राष्ट्रिय आपतकाल घोषणा गर्ने र कागजातविहीन आप्रवासीलाई सामूहिक देश निकाला गर्न अमेरिकी सेनाको प्रयोग गर्ने बताउनुभएको छ ।
राष्ट्रपति जो बाइडेनको प्रशासन कालमा गैरकानुनी रूपमा आप्रवासीको सङ्ख्या बढेपछि ट्रम्पले कागजातविहीन लाखौँ आप्रवासीलाई देश निकाला गर्ने र मेक्सिकोसँगको सीमालाई व्यवस्थित बनाउने बताउनुभएको थियो ।
सो कुरा नवनिर्वाचित राष्ट्रपति ट्रम्पले समाजिक सञ्जालमा बताउनु भएको हो ।
गत नोभेम्बर ५ मा राष्टपतिकाे चुनावमा कमला ह्यारिसलाई पराजित गर्दै ट्रम्प अमेरिकी राष्ट्रपति पदमा पुनः निर्वाचित हुनुभएको थियो ।
उहाँले अध्यागमन र भन्सार प्रवर्तनका पूर्व कार्यवाहक प्रमुख टम होमनलाई आफ्नो ‘सीमा जार’ को रूपमा नामकरण गर्दै आप्रवासनबारे कट्टरपन्थी सोच राख्ने सदस्यहरूको एक क्याबिनेटको घोषणा गर्नुभएको छ ।
गत जुलाईमा रिपब्लिकन नेशनल कन्भेन्सनमा उपस्थित भएर उहाँले समर्थकहरूलाई भन्नुभएको थियो , ‘ जो बाइडेनले भित्राएका लाखौं अवैध आप्रवासीलाई फिर्ता पठाउँछु ’
अमेरिकामा करिब एक करोड १० लाख मानिस गैरकानुनी रूपमा बसिरहेका छन्। ट्रम्पको निर्वासन योजनाले करिब दुई करोड परिवारमा प्रत्यक्ष असर पार्ने अनुमान गरिएको छ ।
अमेरिकी सरकारले मेक्सिकोसँगको दक्षिणी सीमा व्यवस्थापनका लागि वर्षौंदेखि संघर्ष गरिरहेको बेला ट्रम्पले आप्रवासीहरूले अमेरिकीहरूलाई बलात्कार र हत्या गर्ने गरेको दाबी गरेका छन् । आफ्नो चुनावी अभियानका क्रममा ट्रम्पले पटक–पटक गैरकानुनी आप्रवासीविरुद्ध आवाज उठाउनु भएको थियो ।