५ मंसिर २०८१, बुधबार
  • हाम्रो बारेमा
  • विज्ञापन

पर्यटनमन्त्री पाण्डे विरुद्ध दिएको अभिव्यक्ति फिर्ता लिँदै सांसद् बजगाईंले माग्नुभयाे माफी

प्रकाशित मिति :  ५ मंसिर २०८१, बुधबार ११:२१


काठमाडौं । नेपाली कांग्रेसका सांसद् राजेन्द्र बजगाईंले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेविरुद्ध दिएको अभिव्यक्ति फिर्ता लिँदै माफी माग्नुभएकाे छ ।

आफूले दिएकाे अभिव्यक्तिले मन्त्री पाण्डे र परिवारलाई चाेट पुगेकाे भन्दै सांसद् बजगाईंले बुधबार सामाजिक सञ्जाल एक्स (ट्‍वीटर) मार्फत माफी माग्नुभएकाे हाे । ‘सामाजिक सञ्जाल एक्स र फेसबुकमा मैले दिएको अभिव्यक्ति उपर केन्द्रीय कार्यालयमा महामन्त्री विश्वप्रकाश शर्मा र अनुशासन समिति संयोजक आनन्द ढुंगानासँग छलफल भयो, मैले लगाएको आरोपले उहाँ मन्त्रीजीलाई निकै चोट परेको पाएँ, त्यसकारण उक्त लाञ्छित अभिव्यक्ति फिर्ता लिएको छु, टिप्पणीबाट परिवारजनमा परेको चोटप्रति पनि क्षमाप्रार्थी छु’- उहाँले लेख्नुभएकाे छ ।

सांसद् बजगाईंले मन्त्री पाण्डेमाथि क्यासिनोलाई इजाजत दिँदा मोटो रकम घूस लिएको आरोप लगाउनुभएकाे थियाे । सांसद् बजगाईंकाे आराेपकाे खण्डन गर्दै मन्त्री पाण्डेले आराेप पुष्टि गर्न चुनाैती दिनुभएकाे थियाे । बजगाईंले आफूविरुद्ध बारम्बार कुप्रचार गरेकाे भन्दै उहाँले पार्टीमा उजुरी दिनुभएकाे थियाे ।

मन्त्री पाण्डेकाे उजुरीपछि मंगलबार कांग्रेसको केन्द्रीय अनुशासन समितिले सांसद् बजगाईंसँग मन्त्री पाण्डेमाथि लगाएको आरोपबारे स्पष्टिकरण सोधेको थियो ।

त्यसकाे भाेलिपल्ट सांसद् बजगाईंले आराेप फिर्ता लिँदै माफी माग्नुभएकाे हाे ।


113
Shares

प्रतिक्रिया दिनुहोस !