३० कार्तिक २०८१, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

हुम्लामा हिमपात, यहाँका नागरिक अचम्भित

प्रकाशित मिति :  ९ बैशाख २०७८, बिहीबार ०४:३५


सिमकोट ।  उच्च हिमाली जिल्ला हुम्लामा वैशाख महिनामा हिमपात हुँदा यहाँका नागरिक अचम्भित भएका छन् ।

पुस, माघ र फागुन तीन महिना मात्रै हिमपात देखेका यहाँका नागरिकलाई वैशाख महिनामा हिमपात हुँदा जलवायु परिवर्तनले हिउँ परेको हो कि भन्ने लागेको छ । आफूले वैशाखमा हिमपात भएको देखेको यो पहिलो पटक भएको सिमकोट–२ का गोकुल बोहराले बताउनुभयो ।

बुधबार रातिदेखि जिल्लामा निरन्तर हिमपात हुँदा चिसो बढेको छ भने जताततै सेताम्ये देखिएको छ । विगतका वर्षमा चैत दोस्रो सातादेखि हुम्लामा गर्मी मौसम शुरु हुने गथ्र्यो तर यो वर्ष वैशाख महिनामा हिमपात हुँदा चिसो बढेको छ । हिमपातसँगै जिल्लाको तापक्रम माइनसमा झरेको छ ।

सिमकोटको अहिले बिहानको तापक्रम माइनस चारमा झरेको छ भने यहाँका नागरिकले फेरि बाक्लो कपडा प्रयोग गर्न थालेका छन् ।

यस्तै उत्तरी हुम्लाको नाम्खा गाउँपालिकामा दुई फिटसम्म हिउँ जमेको छ । नाम्खामा बुधबार दिउँसो एक बजेबदेखि शुरु भएको हिमपात जारी रहेको छ भने हिमाल सेताम्ये देखिएका छन् । नाम्खा गाउँपालिका, सिमकोट र खार्पुनाथ गाउँपालिकाका क्षेत्रमा दुई फिटभन्दा बढी हिमपात भएको स्थानीयवासी सोनाम लामाले बताउनुभयो ।

विशेषगरी नेपाल र चीनको सीमा क्षेत्र हिल्सामा बाक्लो हिउँ जमेको लामाले बताउनुभयो । मंगलबार चार हजार ६०० मिटर अग्लो रहेको नारा लेकमा मानिसले आवतजावत गरेको भए पनि बुधबारदेखि हिमपात हुँदा पुनः नारा लेक बन्द भएको छ ।

किसान खुशी

लामो समयपछि जिल्लामा हिमपात र वर्षा हुँदा किसान खुशी भएका छन् । मंगलबार राति वर्षा र बुधबार रातिदेखि नियमित हिमपात हुँदा खनजोत गर्न सजिलो हुने भन्दै किसान खुशी भएका हुन् । कात्तिकमा उत्पादन हुने बालीका लागि आकाशेपानीको भरमा आजभोलिको समयमा खनजोत गरेर यहाँका किसानले छर्कने गर्दछन् ।

यो पटक परेको वर्षा र हिमपातले कात्तिक, असोज महिनामा उत्पादन हुने कोदो, चिनो, कागुनो, मकै, सिमी, फापरका लागि सहज बनाएको बताइएको छ । दुइदिन परेको पानीले किसानलाई निकै राहत हुने भएको छ ।

मौसम सफा हुनासाथ अब यहाँका किसान खनजोतमा व्यस्त हुने भएका छन् ।

– रासस


0
Shares

प्रतिक्रिया दिनुहोस !