प्रधानमन्त्री ओली आज चीन जाँदै, सहयोगसम्बन्धी विभिन्न सम्झौतामा हस्ताक्षर हुने
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आजदेखि चीनकाे औपचारिक भ्रमण गर्दै हुनुहुन्छ ।
चीनका प्रधानमन्त्री ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री ओली चीनको औपचारिक भ्रमणका लागि भोलि सोमबार बिहान बेइजिङ प्रस्थान गर्नुहुने परराष्ट्र मन्त्रालयले जनाएकाे छ ।
बिहान ११ बजे हिमालय एयरलाइन्सको विशेष चार्टर विमानबाट उहाँ त्यसतर्फ प्रस्थान गर्नुहुनेछ । स्थानीय समयअनुसार आजै साँझ ६ः१० बजे प्रधानमन्त्री ओलीकाे चीनको राजधानी बेइजिङ पुग्नुहुनेछ ।
भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सी चिनफिङसँग बेइजिङमा भेटवार्ता गर्नुहुने तय भएकाे छ । प्रधानमन्त्री ओलीले आफ्ना चिनियाँ समकक्षी लीसँग द्विपक्षीय भेटवार्ता गर्नुहुने परराष्ट्र मन्त्रालयले जनाएकाे छ ।
उहाँले चीनको राष्ट्रिय जनकांग्रेसका स्थायी समिति अध्यक्ष झाओ लेजीसँग पनि भेटवार्ता गर्नुहुने तय भएकाे छ । भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले पेकिङ विश्वविद्यालयमा मुख्य वक्ताका रुपमा विशेष सम्बोधन गर्नुहुने कार्यक्रम छ ।
उहाँले बेइजिङस्थित नेपाली राजदूतावास, चाइना काउन्सिल फर द प्रमोशन अफ इन्टरनेसनल ट्रेड र नेपाल उद्योग वाणिज्य महासंघको संयुक्त आयोजनामा हुने नेपाल-चीन व्यापार मञ्चलाई सम्बोधन गर्ने कार्यक्रम छ ।
भ्रमणका क्रममा चीनसँग सहयोगसम्बन्धी विभिन्न सम्झौतामा हस्ताक्षर हुने तय भएकाे छ । सम्झाैतापत्र आइतबार साँझ बसेकाे मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेकाे छ ।
प्रधानमन्त्री ओलीकाे भ्रमणकाे तयारीका लागि परराष्ट्रमन्त्री राणा ३ दिने चीन भ्रमण सकेर शनिबार स्वदेश फर्किनुभएकाे थियाे ।
प्रधानमन्त्री ओलीका साथमा उहाँकी धर्मपत्नी राधिका शाक्य हुनुहुनेछ । प्रधानमन्त्री ओली नेतृत्वको नेपाली प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डा. युवराज खतिवडा, संसद्हरू, विशिष्ट श्रेणीका सरकारी अधिकारीहरू, निजी क्षेत्रका प्रतिनिधिहरू, सञ्चारकर्मीहरू लगायत ८७ जनाकाे टाेली रहनेछ ।
प्रधानमन्त्री ओली चीन भ्रमण सकेर मंसिर २० गते स्वदेश फर्कनुहुने परराष्ट्र मन्त्रालयले जनाएकाे छ ।