२१ माघ २०८१, सोमबार
  • हाम्रो बारेमा
  • विज्ञापन

आज विवाहपञ्चमी पर्व मनाइँदै, जनकपुरमा विशेष उत्सव

प्रकाशित मिति :  २१ मंसिर २०८१, शुक्रबार ०९:२६


काठमाडौं । आज विवाहपञ्चमी पर्व, रामचन्द्र र सीताको पूजा आराधनासहित प्रतीकात्मक रूपमा विवाह गरिदिएर मनाइँदैछ।

त्रेतायुगमा मार्गशीर्ष शुक्ल पञ्चमीका दिन सीता र रामको विवाह भएको सम्झनामा देशभर राम-सीताको पूजा आराधना गरी यो पर्व मनाउने गरिन्छ ।

मिथिलाको प्राचीन राजधानी जनकपुरधाममा भगवान् सीता र रामको विवाह महोत्सव भव्य रूपमा हुँदैछ । गोस्वामी तुलसीदासले रामायणमा वर्णन गरेअनुसार जनकनन्दनी सीताको विवाह भएको दिनलाई सम्झेर मिथिलावासीले यस पर्वलाई विशेष महोत्सवका रूपमा मनाउने गरेका छन् ।

त्रेतायुगमा मिथिलाका राजा जनकले आफ्नी छोरी सीताको स्वयंवरका लागि राखिएको शिवधनुषलाई अयोध्याका राजा दशरथका जेठा छोरा रामले तीन टुक्रा पारेका थिए। शिवधनुषलाई भाँचेपछि मार्गशीर्ष शुक्ल पञ्चमीका दिन राम र सीताको भव्य समारोहबीच विवाह सम्पन्न भएको शास्त्रमा वर्णन गरिएको छ ।

सीतालाई छोरी-बहिनीका रूपमा मान्ने मिथिलावासी महोत्सवमा देवीदेवताको सहभागिता सशरीर नभए पनि अदृश्य रूपमा हुने विश्वासले हर्षोल्लाससाथ प्रतिछाया जन्तीको आगमनदेखि बिहेसम्ममा सहभागी हुन्छन् ।

मिथिलाको संस्कृतिअनुसार मटकोर, तिलकोत्सव, स्वयंवर र विवाह संस्कार सम्पन्न हुन्छ । पौराणिक मान्यता अनुरूप राम मन्दिरबाट बाजागाजा, झाँकीसहित भगवान् रामको प्रतिमालाई विशेष रूपमा निर्मित डोला सिंहासनमा राखी रंगभूमिमा पुर्‍याइन्छ। त्यस्तै जानकी मन्दिरबाट सीतालाई विशेष सुसज्जित डोलामा राखी रंगभूमिमा लगिन्छ ।

रंगभूमिमा स्वयंवरविधि, परीक्षणको वैवाहिक विधि सम्पन्न भएपछि सीता-रामलाई जानकी मन्दिरमा ल्याइन्छ । त्यसपछि मिथिला संस्कृतिअनुसार विवाह सम्पन्न हुन्छ । यस अवसरमा निस्केको भगवान्‌को डोला शोभायात्रामा देशका विभिन्न ठाउँ लगायत सीमावर्ती भारतीय क्षेत्रका श्रद्धालु भक्तजन समेत सहभागी हुने गर्छन् ।

पहिले तिरहुतियागाछीमा मनाइने यो महोत्सव दुई दशकअघिदेखि रंगभूमिमा विशेष कार्यक्रमसहित मनाउने गरिएको छ ।

भक्तजनहरू बिहान सबेरैदेखि पवित्र सरोवर र नदीमा स्नान गरी पूजाअर्चना गर्ने गर्छन् । यस अवसरमा भजनकीर्तन, रामलीला, झाँकी र प्रवचनको पनि आयोजना हुँदै आएको छ। देवताको मानवीयकरणको भावनासँग सम्बद्ध विवाह महोत्सवमा सरिक भएपछि मनोवाञ्छित फल र मोक्ष प्राप्त हुने जनविश्वास छ ।

उक्त महोत्सव पहिले एक महिनासम्म भव्य रूपमा मनाउने गरिएकामा हाल पाँच दिनसम्म मनाइन्छ ।  देशभरका राम-सीता मन्दिरमा पनि विशेष पूजा आराधना र महोत्सव गरी विवाह पञ्चमी पर्व मनाइँदैछ । आज विवाह गर्न साइत नचाहिने सामाजिक मान्यता छ ।

काठमाडौं महानगरपालिका-९ बत्तीसपुतलीस्थित श्रीरामचन्द्र मन्दिरमा पनि विवाह महोत्सवको कार्यक्रम आयोजना गरिएको छ । विवाह महोत्सव बिहान ९ देखि दिउँसो १ बजेसम्म आयोजना गरिने मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।


226
Shares

प्रतिक्रिया दिनुहोस !