भैरहवा विमानस्थलबाट एक महिनामा डेढ सय बढी अन्तर्राष्ट्रिय उडान
काठमाडौं । मुलुकको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भएर एक महिनामा डेढ सयभन्दा बढी अन्तर्राष्ट्रिय उडान भएका छन् । यस क्रममा झण्डै पाँच हजार जनाले हवाई यात्रा गरेका छन् ।
गौतमबुद्ध विमानस्थलबाट गत कात्तिक १८ देखि मङ्सिर १८ गतेसम्म चार हजार ७७१ यात्रुले सेवा लिएको उक्त विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले जानकारी दिनुभयाे ।
उहाँका अनुसार एक महिनाको अवधिमा फलाई दुबईले सर्वाधिक उडान भरेको छ । तर यात्रुका हिसाबले एक महिनामा जजिरा एयरवेजले सबैभन्दा धेरै तीन हजार ३४ यात्रुलाई सेवा दिएको छ । यस्तै फलाई दुबईले एक हजार एक सय १३ यात्रु भैरहवा ओरालेको र भैरहवाबाट १९ जनालाई दुबई लगेको तथ्यांक छ ।
गौतमबुद्ध विमानस्थलमा अन्तर्राष्ट्रियतर्फ एक महिनामा दुई हजार २३८ यात्रु भैरहवाबाट विदेश उडेका छन् भने दुई हजार ५३३ यात्रु भैरहवा ओर्लिएका छन् । साथै एक महिनामा भैरहवालाई ट्रान्जिट बनाएर पाँच हजार ४६७ यात्रु उडेको महाप्रबन्धक तिवारीले जानकारी दिनुभयाे ।
एक महिनामा कुल १५६ उडान-अवतरण भएका विमानस्थलले जनाएको छ। थाइ एयर एसियाले ४४७ यात्रुलाई सेवा दिएको छ भने कतारले ९३ र नेपाल एयरलाइन्सले ३९ यात्रुलाई सेवा दिएको छ ।
महाप्रबन्धक तिवारीका अनुसार पर्यटकीय उद्देश्यलेभन्दा श्रम गन्तव्यमा उडान गर्ने यात्रु उल्लेखनीय रहेको र धेरै यात्रुको छनोटको गन्तव्य कुवेत रहेको पाइएको छ । अर्कोतर्फ, बजेट एयरलाइन्सले फूल सर्भिस एयरलाइन्सभन्दा धेरै यात्रु बोकेको अध्ययनले देखाएको छ ।
सिधा र लो-कस्ट एयरलाइन्स, त्यसमा पनि श्रम गन्तव्य धेरैको छनोटमा रहेको पाइएको हुँदा वायुसेवा कम्पनीले बिजनेसलाई प्राथमिकता दिने भएकाले आगामी दिनमा यसैका आधारमा मार्केटिङ र विजनेस अनुकूल रणनीति बनाउनुपर्ने आवश्यकता रहेको विमानस्थलको निष्कर्ष छ ।
पछिल्ला दिनमा भैरहवाबाट अन्तर्राष्ट्रिय उडानलाई दिगो र प्रभावकारी बनाउन संघीय र प्रदेशस्तरीय मन्त्रीदेखि विभिन्न सरोकारवाला निकाय एवं संघसंस्थासँग नियमितजसो छलफल र अन्तरक्रिया भइरहेको विमानस्थलले जनाएको छ ।
– रासस