भारतलाई आपतमाथि विपत, अस्पतालमा आगो लाग्दा १२ को गयो ज्यान
काठमाडौं । भारतलाई आपतमाथि विपत थपिँदैछ । कोरोना भाइरसको सुनामीले सिकिस्त भारतको एक अस्पतालमा आगो लागेको छ । मुम्बईको विरार अस्पतालको आइसीयु खण्डमा आगो लाग्दा १२ जना विरामी मारिएका छन् ।
‘बिहान सवा ३ बजे आगो लाग्यो’– भारतीय प्रहरीको भनाई छ । केही दिन अघि भारतको अर्काे अस्पतालमा ट्यांकरबाट अक्सिजन चुहावट भएर विरामीलाई अक्सिजन बन्द हुँदा २२ जनाको ज्यान गएको थियो ।
कोभिड संक्रमित सिकिस्तहरुका लागि अक्सिजन पुराउन नसकेर भारतमा द्धन्दको अवस्था सिर्जना भएको छ । राजधानी दिल्ली लगिने अक्सिजन ट्यांकरहरु हरियाणा र उत्तर प्रदेश सरकारले रोकेर आफ्नै प्रदेशको अस्पतालमा लगेको आरोप दिल्लीका उपमुख्यमन्त्री मनिष सिसोदियाले लगाउनुभएको छ ।
भारतका विभिन्न अस्पतालहरुले आफूसँग केही घन्टालाई मात्र पुग्ने अक्सिजन रहेको भन्दै सहयोगका लागि सार्वजनिक अपिल गरिरहेका छन् ।
भारतमा २४ घन्टाभित्र दुई हजारभन्दा धेरैको कोभिडका कारण ज्यान गएको छ । दिल्ली, मुम्बई, लखनउ, बनारस, सुरत, अहमदावाद लगायतका सहरमा विरामीले अस्पताल खचाखच भरिएको छ । स्वास्थ्यकर्मी, अक्सिजन र औषधीको अभावले विरामी तड्पिँदै मरिरहेको समाचार भारतीय सञ्चार माध्यमहरुले दिएका छन् ।
-आइएनए न्युज एजेन्सी