११ मंसिर २०८१, मंगलवार
  • हाम्रो बारेमा
  • विज्ञापन

भारतमा कोरोना संक्रमण : संक्रमित र ज्यान गुमाउनेकाे संख्यामा नयाँ रेकर्ड

प्रकाशित मिति :  १० बैशाख २०७८, शुक्रबार ०७:२०


नयाँ दिल्ली । भारतमा कोरोना भाइरसको संक्रमण झनै तीब्र बनेको देखिएको छ ।

यहाँका स्वास्थ्य क्षेत्रका अधिकारीहरुले दिएका समाचारहरुमा यो संक्रमणका कारण यहाँ ज्यान गुमाउने र नयाँ संक्रमणको दरमा नयाँ रेकर्ड देखिएको छ ।

शुक्रबार बिहान सार्वजनिक गरिएको एक तथ्यांकमा यहाँ गएको २४ घन्टा यतामात्र थप तीन लाख ३२ हजारभन्दा बढी नागरिक यसका संक्रमित भेटिएका छन् । यो संख्या भारतमा अहिलेसम्ममा एकै दिन देखिएको संक्रमणको सबैभन्दा ठूलो संख्या भएको बताइएको छ ।

त्यसैगरी यहाँ गएको २४ घन्टा यता दुई हजार दुई सय ६३ जनाको ज्यान गएको छ । यसरी कोरोना भाइरसको संक्रमणकै कारण भारतमा २४ घन्टामा भएको यो निधन सबैभन्दा बढी हो ।
यसरी भारतमा अहिलेसम्ममा यो संक्रमणबाट १ करोड ६२ लाखभन्दा बढी व्यक्ति संक्रमित हुन पुगेका बताइएको छ ।त्यसैगरी भारतमा यो संक्रमणबाट मात्र एक लाख ८६ हजारभन्दा बढी व्यक्तिको निधन भइसकेको छ ।

भारतमा यसअघि तीन लाखभन्दा केही बढी संक्रमित एकैदिन भेटिएका थिए । तर बिहीबार भने ३ लाख ३२ हजार भन्दा बढी नागरिक यसका संक्रमित भेटिएका हुन् । कोरोना माहामारी शुरु भएयता विश्वमा भएका सङ्क्रमणको तुलनामा यो ठूलो संख्या भएको सरकारी तथ्याङ्कले जानकारी दिएको छ । यद्यपी संयुक्त राज्यमा अमेरिका गत जनवरीमा एकै दिनमा तीन लाख भन्दा बढी व्यक्ति संक्रमित भएका थिए ।

भारतमा गत जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको थियो सो समयबाट अहिलेसम्म भारतमा १३ करोड ५४ लाख ७८ हजार भन्दा बढी व्यक्तिले खोप लगाएका छन् । कोरोना भाइरसको महामारी फैलिने क्रम एकातिर चलिरहेको छ भने अर्कोतर्फ कोरोनाभाइरस विरुद्धको खोप चलाउने क्रम पनि चलिनै रहेको छ ।

भारतमा अहिले कोभिसिल्ड, कोभ्याक्सीन र स्पुट्नीक भी गरी तीन प्रकारका खोपको प्रयोग भइरहेको सरकारी निकायले जनाएका छन् । रुसले विकास गरेको स्पुट्नीक भी भने यही अप्रिल १२ देखि मात्रै लगाउन थालिएको अधिकारीले जानकारी दिएका छन् ।

भारतमा  बिहीबार मात्रै १७ लाख ४० हजार पाँच सय ५० जनाको कोरोना परिक्षण गरिएको भारतीय स्वास्थ्य अनुसन्धान परिषद्ले जनाएको छ । अप्रिल २२ सम्म कूल २७ करोड ४४ लाख ४५ हजार भन्दा बढीले कोरोना परीक्षण गरिसकेको पनि परिषद्ले उल्लेख गरेको छ ।

भारतको राष्ट्रिय राजधानी दिल्ली सबभन्दा धेरै कोरोना प्रभावित राज्यको रुपमा रहेको छ ।

दिल्लीमा कोरोना शुरु भएपछि हालसम्म कोरोना संक्रमणबाट १२ हजार ६ सय ४० भन्दा बढीको ज्यान गइसकेको छ ।

– रासस


0
Shares

प्रतिक्रिया दिनुहोस !