१२ पुष २०८१, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

कञ्चनपुरमा भारतले एक हजार बिघा जमिन कब्जा गर्‍यो, सरकार गम्भीर होस् : झलनाथ खनाल

प्रकाशित मिति :  ११ पुष २०८१, बिहीबार १२:११


काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले कञ्चनपुरमा नेपालको भूमि मिचेर भारतले खेतीपाती लगाएको प्रति आपत्ति जनाउनुभएको छ ।

बिहीबार विज्ञप्ति जारी गरी खनालले भारतीय पक्षबाट नेपाली भूमि माथि गम्भीर आक्रमण भएको उल्लेख गर्नुभएको छ । लिम्पियाधुरा, लिपुलेक र कालापानी, सुस्ता र अन्य कतिपय ठाउँको भूमि अतिक्रमण गरिरहेको भारतले सुदूरपश्चिमको कञ्चनपुरको दक्षिणी सिमानामा नेपाली भूमि अतिक्रमण गरेको भन्दै उहाँले आपत्ति जनाउनुभएको हो । नेपाल– भारत सीमा स्तम्भ २७ र २८ का बिचमा रहेको करिब एक हजार बिघा (करिब ६६७ हेक्टर) जमिन भारतीयहरूले कब्जा गरेर खेतीपाती समेत गरिरहेको कुरा जानकारीमा आएको उहाँको विज्ञप्तिमा उल्लेख छ ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको क्षेत्रको सो जङ्गल मिचेर भारतीय पक्षले खेती लगाएको भन्दै उहाँले विरोध जनाउनुभएको छ ।  ‘त्यहाँ पुग्न आवागमनको पनि समस्या छ र निकुञ्जको सुरक्षाका कारणले नेपाल तिरबाट जो कोही त्यहाँ पुग्न पनि सक्दैन, तर दक्षिणतिरबाट लगातार अतिक्रमणमा भइरहेको कुरा अहिले जानकारीमा आएको छ’, खनालले विज्ञप्तिमा लेख्नु भएको छ ।

खनाले सो घटना अत्यन्त गम्भीर भएको भन्दै सरकारको ध्यानाकर्षण गराउनु भएको छ । ‘यसरी देशको भूभाग र सिमाना खुलेआम अतिक्रमण हुँदा पनि यो देशको सरकार देख्न सक्दैन, थाहा पाउन सक्दैन र मुलुकको सीमा रक्षा गर्न कुनै कदम चाल्न सक्दैन, यो दुईतिहाई भनिने सरकारको अकर्मण्यता, असक्षमता र लापरबाहीको चरम अभिव्यक्ति हो, अतिक्रमण भएको ठाउँमा तुरुन्त एउटा शक्ति सम्पन्न निरीक्षण टिम पठाइयोस्, स्थानीय प्रशासन, नेपाली सेना, सशस्त्र र जनपथ प्रहरी शक्ति, त्यहाँका जनप्रतिनिधिहरू र पार्टीका प्रतिनिधिहरू समेत पठाइयोस्, स्थितिको तुरुन्त जाँचबुझ गरियोस्, आवश्यकता अनुसार भारत सरकारसँग समेत वार्ता गरियोस् र सम्पूर्ण नेपाली जनताको मुटुको टुक्रा भन्दा प्रिय त्यो भूमिको सुरक्षा गरियोस् र त्यसलाई नेपालको अभिन्न भूभागका रूपमा स्थापित गरियोस्, हाम्रा सीमा स्तम्भहरूलाई अद्यावधिक गर्नुका साथै सिमानामा नियमित पेट्रोलिङको समेत व्यवस्था गरियोस् भनेर म सम्पूर्ण देशभक्त नेपाली जनताको तर्फबाट जोडदार माग गर्दछु, अन्यथा नेपाली जनताको देशभक्तिपूर्ण भावनाको विस्फोटलाई कसैले रोक्न सक्ने छैन’, खनालले लेख्नु भएको छ ।


113
Shares

प्रतिक्रिया दिनुहोस !