१२ पुष २०८१, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

सबैको उद्देश्य नेपाललाई समृद्ध बनाउने हुनुपर्छ : प्रदीप पौडेल

प्रकाशित मिति :  ११ पुष २०८१, बिहीबार १३:०५


काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले नेपाललाई समृद्ध बनाउने सबैको साझा उद्देश्य बन्नु पर्ने बताउनुभएको छ ।

बिहीबार नेपाल हेल्थ कन्क्लेभ २०२४ को कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पौडेलले नेपाल भित्र रहेका वा नेपाल बाहिर रहेका नेपालीको उद्देश्य एउटै भएको बताउनुभयो । ‘हामी सबैको उद्देश्य हो नेपाल बनाउने, नेपाललाई समृद्ध बनाउने, नेपाली जनतालाई सेवा उपलब्ध गराउने राज्यको जिम्मेवारी पुरा गर्ने’, उहाँले भन्नुभयो ।

आफूहरूले नेपाल भित्रै रहेर नेपाल बनाउन चाहेको पौडेलले बताउनुभयो । नेपाल बनाउन चाहने नेपाली वा गैरआवासीय नेपालीलाई योगदान दिने कुरामा जोड्न कुनै आपत्ति नरहेको उहाँले बताउनुभयो । नेपाल भित्र र बाहिर रहेका नेपालीलाई जोडेर नेपालको स्वास्थ्य क्षेत्रलाई सुदृढ बनाउन कार्यक्रम आयोजना गरिएको पौडेलले स्पष्ट पार्नुभयो ।

नेपालको स्वास्थ्य क्षेत्र क्रमिक रूपमा सुधारको बाटोतर्फ अघि बढिरहेको उहाँले बताउनुभयो । तथापि नेपाली जनतालाई अनुभूति गर्ने गरी, आम नेपालीलाई सेवा प्रदान गर्ने गरी स्वास्थ्य क्षेत्रलाई व्यवस्थित गर्न अझै जरुरी रहेको उहाँले बताउनुभयो ।

नेपालमा स्वास्थ्य क्षेत्रमा देखिएका कतिपय समस्याहरूको पहिचान गर्न आवश्यक रहेको उहाँले बताउनुभयो । स्वास्थ्य प्रणाली सुधारका लागि थुप्रै विषयहरू भए पनि नेपाली जनतालाई अनुभूति गर्ने गरी समस्याहरूको पहिचान गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

नेपाल फर्कन चाहनेलाई फर्कने वातावरण बनाउनु पर्ने र बाहिरै बसेर सहयोग गर्न चाहनेलाई पनि सहयोग गर्ने वातावरण बनाउनु पर्नेमा उहाँले जोड दिनुभयो । नेपालमा नै जन्मिएर, हुर्किएर विदेश गएकालाई पनि नेपाल प्रतिको माया त्यतिकै भएको उहाँको भनाइ छ ।


113
Shares

प्रतिक्रिया दिनुहोस !