२० माघ २०८१, आईतवार
  • हाम्रो बारेमा
  • विज्ञापन

गाउँपालिका, नगरपालिका र जिसस महासंघले प्रधानमन्त्रीलाई बुझाए ध्यानाकर्षणपत्र

प्रकाशित मिति :  १२ पुष २०८१, शुक्रबार १५:४९


काठमाडाैं। प्रधानमन्त्री केपी शर्मा ओलीलाई गाउँपालिका राष्ट्रिय महास‌ंघ नेपाल, नेपाल नगरपालिका संघ र जिल्ला समन्वय समिति महासंघले ध्यानाकर्षणपत्र बुझाएका छन् ।

कार्य विस्तृतीकरण प्रतिवेदन परिमार्जनजस्ता विषयमा छलफल गर्न राष्ट्रिय समन्वय परिषद्को तेस्रो बैठक बस्नुपर्ने लगायत विभिन्न सात सूत्रीय माग राखी प्रधानमन्त्रीलाई ध्यानाकर्षणपत्र बुझाइएको हो ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा शुक्रबार गाउँपालिका राष्ट्रिय महासंघका अध्यक्ष लक्ष्मीदेवी पाण्डे, नगरपालिका संघका अध्यक्ष भीमप्रसाद ढुङ्गाना, जिल्ला समन्वय समिति महासंघका अध्यक्ष अशोककुमार घिमिरेसहितले ध्यानाकर्षणपत्र बुझाउनुभएको छ ।

प्रधानमन्त्रीको अध्यक्षतामा रहेको समन्वय परिषद्को दोस्रो बैठक गत २०८० माघ २४ गते पश्चात् नबसेकाले अघिल्लो बैठकमा पेस भई निर्णय हुन बाँकी रहेका विषयवस्तुमा छलफल हुनुपर्ने माग ध्यानाकर्षण पत्रमा गरिएको छ ।

यसै गरी समानीकरण अनुदान कटौती नगर्न, स्थानीय सरकारलाई वित्तीय हस्तान्तरणको आकार वृद्धि गर्न, राष्ट्रिय भूमि आयोगका काम छिटो सम्पादन गराउन र जिल्ला समन्वय समितिलाई स्रोतसाधन सम्पन्न बनाउन पनि प्रधानमन्त्रीलाई अनुरोध गरिएको छ ।

प्रधानमन्त्री ओलीले संविधानबमोजिम स्थानीय सरकारलाई अधिकार दिन र स्रोतले भ्याएसम्म बजेटको उचित प्रबन्ध गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।


226
Shares

प्रतिक्रिया दिनुहोस !