२६ पुष २०८१, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

निकुञ्जमा घाँसेमैदान व्यवथापनको काम सुरु

प्रकाशित मिति :  २५ पुष २०८१, बिहीबार १३:१०


चितवन । चितवन राष्ट्रिय निकुञ्जले घाँसेमैदान व्यवस्थापनको काम सुरु गरेको छ । चालु आर्थिक वर्षमा दुई सय ५० हेक्टर क्षेत्रफलमा घाँसेमैदान व्यवस्थापन गर्ने योजना अनुसार अहिले काम सुरु गरेको हो ।

निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरका अनुसार ३७ लाख ५० हजार रुपैयाँ खर्चमा घाँसेमैदान व्यवस्थापनको काम सुरु गरिएको हो । निकुञ्जभित्र कसरा, लामिताल, सुखिभार, भिम्ले, डुमरिया, बुढी राप्तीलगायत क्षेत्रमा घाँसेमैदान व्यवस्थापनको काम गरिने उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो “वन्यजन्तुलाई चरन क्षेत्र व्यवस्थापनका लागि हरेक वर्ष घाँसेमैदान व्यवस्थापनका काम हुँदै आएको छ ।”

घाँसेमैदान व्यवस्थापनका लागि घाँस काट्ने उपकरणसँगै मजदुर लगाएर मैदान व्यवस्थापन थालिएको निकुञ्जका सूचना अधिकारी मगरले जानकारी दिनुभयो । अहिले कसरा क्षेत्रमा घाँसेमैदान व्यवस्थापनको काम भइरहेको भन्दै हालसम्म ६० हेक्टर क्षेत्रफलमा व्यवस्थापनको काम सकिएको उहाँले जानकारी दिनुभयो ।

निकुञ्ज नौ सय ५२ दशमलव ६३ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ । जसमध्ये आठ हजार नौ सय ५५ दशमलव दुई हेक्टर क्षेत्रफल घाँसेमैदानका लागि उपयुक्त मानिन्छ । गत वर्ष ४० लाख ७० हजार रुपैयाँ खर्च गरेर तीन सय ७० हेक्टर क्षेत्रफलमा घाँसेमैदान व्यवस्थापनको काम गरिएको थियो । कोभिड अघिसम्म घाँसेमैदान व्यवस्थापनमा धेरै बजेट विनियोजन हुने गरेको भए पनि अहिले निकै न्यून बजेटमा काम हुने गरेको थापामगरले बताउनुभयो ।
–रासस

 


226
Shares

प्रतिक्रिया दिनुहोस !