४ आश्विन २०८१, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

काेभिड संक्रमणबाट गुल्मीमा एककाे ज्यान गयाे

प्रकाशित मिति :  १२ बैशाख २०७८, आईतवार ०५:३२


गुल्मी । काेभिड भाइरसको संक्रमणबाट गुल्मीमा एक पुरुषको ज्यान गएको छ ।

गुल्मी छत्रकोटा गाउँपालिका–३ हर्दिनेटाका ४५ वर्षीय पुरुषको गए राति घरमै निधन भएको स्वास्थ्य कार्यालय गुल्मीका प्रमुख डा. भवानीप्रसाद शर्माले जानकारी दिनुभएको छ ।

गत बिहीबार भारतबाट घर आएका उनलाई शुक्रबार सामान्य ज्वरो आएपछि परीक्षण गराउँदा पोजेटिभ देखिएको थियो । शनिबार राति ९ बजेसम्म घरमा खाना खाएर बस्दासम्म सामान्य अवस्थामा रहेका उनलाई राति साढे १० बजे श्वास फेर्न गाह्रो भएको थियो । राति नै उपचारका लागि पाल्पा लैजाने तयारी गर्दागर्दै उनको अचानक घरमै ज्यान गएको बताइएको छ ।

विश्वभर फैलिएको कोरोना भाइरसको दोस्रो लहरअन्तर्गत नयाँ प्रजातिको संक्रमणका कारण गुल्मीमा उनीसँगै दुई जनाको ज्यान गइसकेको छ । पछिल्लो समयमा गुल्मीमा ३९ व्यक्तिमा कोरोना
संक्रमण देखिएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र गुल्मीले जनाएको छ । संक्रमित हुनेमा २२ देखि ५५ वर्ष उमेर समूहका छन् ।

बाँकेमा कोरोनाबाट हालसम्म एक सय ८० को ज्यान गएकाे छ

राँझा– बाँकेमा कोरोना संक्रमणका कारण हालसम्म एक सय ८० जनाको ज्यान गएको छ ।

पछिल्लोपटक आज बिहान कोहलपुर नगरपालिका–१० निवासी ३६ वर्षीय पुरुषको शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा बिहान २ः३० बजे ज्यान गएको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र बाँकेका स्रोत व्यक्ति तेज वलीले जानकारी दिनुभयो ।

उहाँका अनुसार बितेको २४ घण्टामा बाँकेका अस्पतालमा उपचाररत पाँच महिला र तीन पुरुष गरी आठ जनाको ज्यान गएको छ । बाँकेमा आजसम्म काेभिडका कारण बाँकेका ८० र बाहिरी जिल्लाबाट उपचारका लागि अस्पतालमा आएका १०० गरी एक सय ८० जनाको ज्यान गएको हो ।

हालसम्म ज्यान गुमाउनेमा बाँकेका ३३ महिला र ४७ पुरुष रहेका छन् भने बाहिरी जिल्लाबाट उपचारका लागि यहाँ आएका २५ महिला र ७५ पुरुषको ज्यान गएको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र बाँकेको तथ्याङ्कले देखाएको छ ।

बाँकेमा हाल दुई हजार एक सय २८ सक्रिय संक्रमितमध्ये सात जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । छयासी सिकिस्त छन् भने एक सय ९८ को अवस्था सामान्य छ । तीमध्ये ८३ महिला र ९८ पुरुष गरी एक सय ८१ जनाको भेरी अस्पतालको कोभिड आइसोलेसनमा उपचार भइरहेको छ ।

यसैगरी २४ महिला र ३१ पुरुष गरी ५५ जनाको शिक्षण अस्पताल कोहलपुर, छ महिला ३३ पुरुष गरी ३९ जनाको ह्वाइटहाउस आइसोलेसन र नौ पुरुषको कोहलपुर नगरपालिकाको कोभिड आइसोलेसनमा उपचार भइरहेको छ । बाँकेमा एक हजार नाै सय ८० होम आइसोलेसनमा रहेको स्रोत व्यक्ति वलीले जानकारी दिनुभयो ।

उहाँका अनुसार बाहिरी जिल्लाबाट आएका एक सय ३६ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

– रासस


0
Shares

प्रतिक्रिया दिनुहोस !