२२ माघ २०८१, मंगलवार
  • हाम्रो बारेमा
  • विज्ञापन

राणकालीन पुस्तकालयमा अब ‘बाल पुस्तकालय’

प्रकाशित मिति :  २२ माघ २०८१, मंगलवार १२:०९


गलकोट । राणकालीन सामुदायिक पुस्तकालयमा छुट्टै बाल पुस्तकालयको व्यवस्था गरिएको छ । विसं २००३ मा स्थापित बागलुङको विद्यामन्दिर पुस्तकालयभित्र बालबालिकालाई छुट्टै पुस्तकालयको व्यवस्था गरिएको हो ।
बाल पुस्तकालय सञ्चालनका लागि चालिएको अभियानबाट सङ्कलित रु पाँच लाख लागतमा बाल पुस्तकालय स्थापना गरिएको छ । पुस्तकालयप्रेमीबाट सङ्कलित रु पाँच लाख लागतबाट पुस्तकालयभित्र छुट्टै बालबालिका केन्द्रित पुस्तकालय स्थापना गरिएको पुस्तकालयका अध्यक्ष राम थापाले जानकारी दिनुभयो ।
पुस्तकालय स्थापनकै अवसरमा सल्लाहकार परिषद् सदस्य एवं पूर्वअध्यक्ष ईश्वरप्रसाद श्रेष्ठले आफ्नी छोरी आराजु श्रेष्ठको स्मृतिमा रु ५५ हजार ५५५, पुस्तकालयका आजीवन सदस्य बागलुङ नगरपालिका–३ गुठी निवासी गगन पुनले आफ्ना बुबा टीकाराम पुनको स्मृतिमा रु ५० हजार र कालिका भगवती गुठीका उपाध्यक्ष निशान खड्काले रु २५ हजार बाल पुस्तकालय सञ्चालनका लागि सहयोग रकम हस्तान्तरण गर्नुभएको अध्यक्ष थापाले जानकारी दिनुभयो ।
बाल पुस्तकालयका लागि आवश्यक पर्ने सूचना–प्रविधिका उपकरण, बालसाहित्यका पुस्तक, रङरोगन र साजसज्जाका लागि विभिन्न सामग्री राखेर स्थापना गरिएको छ । जहाँनिया राणाकालको प्रतिकूल समयमा स्थापना भएका कारण पनि विद्यामन्दिर पुस्तकालयको छुट्टै पहिचान र गरिमा छ । धौलागिरि क्षेत्रको शैक्षिक, सामाजिक र राजनीतिक जागरणको केन्द्रका रुपमा यस पुस्तकालयलाई लिने गरिन्छ ।
स्थापनाकालमा काठमाडौँ उपत्यका हुँदै भारतको दिल्ली, गोरखपुरसम्मबाट भरिया लगाएर ल्याइएका पुस्तक सङ्ग्रह गरेर सुरु गरिएको पुस्तकालयमा अहिले हस्तलिखितसहित विभिन्न विधाका गरी करिब १८ हजार पुस्तक छन् । पुस्तकालयमा विसं २)७२ देखि विद्युतीय पुस्तकालय (ई–लाइब्रेरी) पनि सञ्चालित छ ।
प्रारम्भिक चरणमा विद्यालयको कोठा हुँदै सार्वजनिक पौवामा चलेको पुस्ताकालयले अहिले आफ्नै सुविधासम्पन्न भवनबाट सेवा दिँदै आएको छ । यस पुस्तकालयका संस्थापक दिवङ्गत ओमप्रसाद गौचन र मेघकुमार वैद्य छन् । बाल पुस्तकालयको आइतबार बागलुङका नगरप्रमुख वसन्तकुमार श्रेष्ठले उद्घाटन गर्नुभएको छ । स्रोत व्यवस्थापन र दिगोपनाका लागि विभिन्न दाताहरुले अक्षयकोष खडा गरेर पुस्तकालय स्थापना गरिएको हो । नगरप्रमुख श्रेष्ठले बालमैत्री नगरको अङ्गका रूपमा बालमैत्री पुस्तकालय रहेको बताउनुभयो ।
–रासस


565
Shares

प्रतिक्रिया दिनुहोस !