११ फाल्गुन २०८१, आईतवार
  • हाम्रो बारेमा
  • विज्ञापन

तीन विशेषता जसले केपी ओलीलाई राजनेता/युगनायक बनायो

प्रकाशित मिति :  ११ फाल्गुन २०८१, आईतवार ०९:४३


– गोविन्द थापा

केपी शर्मा ओलीको सबैभन्दा ठूलो कमजोरी दुईटा ‘क’ हो । किताब र केटाकेटी । अर्काे शब्दमा भन्ने हो भने बालबालिका र ज्ञान । मैले वाल्यकालदेखि नै उहाँसँग संगत गर्ने मौका पाएँ । संगतको क्रममा उहाँका विशेषता र क्षमता नजिकबाट देख्नेबुझ्ने मौका पनि पाएँ । यहाँ म केपी ओलीका केही विशेषता चर्चा गर्न गइरहेको छु ।

किताबी कीरा

किताब नै केपी शर्मा ओलीको जीवन हो । नेपाली राजनीतिको महानायक व्यक्तित्व बनाएकै किताबले हो । पढेर मात्र हुँदैन, बुझ्नुपर्छ भन्ने उहाँको विचार छ । कुनै पनि विषयमा पढेपछि त्यसबाट लिएको सूचना तथा ज्ञानलाई अन्य ज्ञान र सूचनासँग गाँसेर विष्लेशण गर्नुहुन्छ । यसले गर्दा उहाँको ज्ञान फराकिलो हुँदै गयो ।

राजनीतिशास्त्र, धर्मशास्त्र, अर्थशास्त्र, संस्कृति, विज्ञान, इतिहास, भूगोल हरेक विषयका आधारभूत ज्ञान उहाँलाई छ । सबै विषयका आधारभूत ज्ञान तथा पढ्ने र विष्लेशण गर्ने क्षमताका कारण केपी ओलीले असाधारण बौद्धिकता हासिल गर्नुभएको छ । धर्मको प्राचीन इतिहासदेखि मानव सभ्यताको प्रारम्भिक विकास कुन विन्दुबाट भयो भन्ने विषयमा समेत उहाँलाई ज्ञान छ । अहिलेको जल्दोबल्दो आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सम्मको ज्ञान उहाँलाई छ ।

विद्धतहरुको सभामा जुनसुकै विषयमा धाराप्रवाह भाषण गर्न त्यसै कहाँ सकिन्छ ? यसका लागि साधना चाहिन्छ । केपी ओलीले ज्ञानसाधना निरन्तर गरिरहनुभयो । आजको विराट व्यक्तित्व केपी ओली निर्माण त्यही ज्ञान साधनाको जगमा उभिएको छ ।

मेरो विचारमा केपी ओलीको अध्ययनको केन्द्रीय विषय समाज हो । नेपाली समाजको बनोट र विशेषता बारेमा केपी ओलीमा जति गहिरो अध्ययन मैले कसैमा देखेको छैन ।

सूचनालाई ज्ञानमा बदल्ने क्षमता

केपी ओलीले ‘विकास र समृद्धि’ कार्यक्रम दिनुभयो । उहाँका विभिन्न समयका भाषणलाई गम्भीरतासाथ सुन्ने र बुझ्ने हो भने ‘विकास र समृद्धि’ एउटा वृहत् कार्यक्रम हो भन्ने थाहा पाउन सकिन्छ । विकास र समृद्धि भनेको नेपाल राष्ट्र र नेपाली समाजको सर्वत्तोमुखी विकासको कार्यक्रम हो । विकास र समृद्धि आफैंमा एउटा दर्शन हो ।

नेपाल राष्ट्रको प्राचीन इतिहासदेखि अर्वाचीन अवस्थाबारे केपी ओलीमा प्रखर ज्ञान छ । यही ज्ञानको आलोकमा उहाँले नेपाल राष्ट्रलाई कता लैजाने भन्ने कार्यक्रम बनाउनुभएको झल्को मिल्छ । उहाँका भाषण तथा लेखहरुमा सर्वत्र भविष्यमुखी दृष्टिकोण देखिन्छ । भविष्य थाहा पाउन अतित थाहा पाउनुपर्छ भन्ने भनाई छ । नेपालको इतिहासको रौंरौं केपी ओलीलाई थाहा छ । सामान्यतया इतिहास भन्नाले राजनीतिक इतिहास मात्र भन्ने आम बुझाई देखिन्छ । यस विपरित केपी ओलीको बुझाईमा इतिहास भनेको राजनीतिक इतिहास मात्र होइन । इतिहासको विभिन्न कालखण्डमा नेपालको अर्थतन्त्र कस्तो थियो, नेपालमा भाषा संस्कृति कस्तो थियो, नेपाली भेषभूषा कस्तो थियो, नेपालीको खानपान कस्तो थियो, नेपालको शिक्षा र व्यापार प्रणाली कस्तो थियो, नेपालको प्रशासन र कर्मचारीतन्त्र कस्तो थियो लगायतका यावत विषयका ज्ञान केपी ओलीमा छ । यही ज्ञानको जगमा उभिएर केपी ओलीले विकास र समृद्धि भन्ने दर्शन दिनुभएको छ ।

मैले माथि केपी ओलीको मुख्य विशेषता किताब पढ्नु हो भन्ने लेखें । किताब पढेर पाएको सूचनालाई ज्ञानमा बदल्न सक्नुपर्छ, तब मात्र मानिस ज्ञानी र विद्धान कहलिन्छ । सूचनालाई ज्ञानमा बदल्नु केपी ओलीको अर्काे ठूलो विशेषता हो । यही ज्ञान र बौद्धिकताले केपी ओलीलाई राजनेताको उचाईमा उठाउन मद्धत गरेको छ ।

संघर्षशील र जुझारु

संघर्षलाई आम रुपमा द्धन्दका रुपमा मात्र बुझ्ने गरिएको छ । संघर्षको व्यापक अर्थ छ । समस्याहरु निरन्तर आइरहन्छन्, ती समस्याहरुको सामना गरेर समाधान पहिल्याउनु नै संघर्ष हो । समस्यासँग नडराउने, समस्याबाट नभाग्ने केपी ओलीको स्वभाव छ । कुनै समस्या आयो भने त्यसलाई पन्छाउन सकिन्छ, समस्याको टालटुले समाधान गर्न सकिन्छ । समस्याको कामचलाउ समाधान गर्न सकिन्छ । तर, केपी ओली कस्ता मानिस हुनुहुन्छ भने कुनै समस्या आयो भने त्यसको दिगो र उत्कृष्ट समाधान खोज्नुहुन्छ । यसमा म दुईटा उदाहरण दिन्छु ।

पहिलो— संविधान जारी भएपछि उहाँ पहिलो पटक प्रधानमन्त्री बन्नुभयो । संविधान बन्ने अवस्थै थिएन । संविधान नबनाई तत्कालीन प्रधानमन्त्री सुशिल कोइरालालाई राजीनामा गराएर आफू प्रधानमन्त्री बन्न सक्नुहुन्थ्यो । जसरी पनि प्रधानमन्त्री बन्ने त हो नि भनेर ओलीले सजिलो बाटो रोज्नुभएन । संविधान जारी गर्ने कठिन बाटो रोज्नुभयो । बरु म प्रधानमन्त्री बन्दिनँ तर संविधान चाहिँ बनाउँछु भन्ने बाटो रोज्नुभयो । त्यसैले वर्तमान संविधान बनाउन सबैभन्दा ठूलो योगदान कसैको छ भने केपी ओलीको छ । ओलीले सजिलो समाधान नरोजेर कठोर तर दिगो समाधान रोज्नुभयो ।

दोस्रो— संविधान बनेपछि भारतले नेपाललाई नाकावन्दी लगायो । नाकावन्दीको सरल समाधान थियो— भारतका सामु घुँडा टेक्नु । अथवा लम्पसार पर्नु । लम्पसार परेको भए उहाँको पदको आयु लामो हुन्थ्यो होला । तर, पदको माया गर्नुभएन, देशको माया गर्नुभयो, त्यसैले कठिन तर दिगो समाधानको बाटो रोज्नुभयो । लम्पसार पार्न सकिन्छ कि भनेर भारतले ओलीलाई भ्रमणको निम्ता दियो तर नाकावन्दी नहटाई तिम्रो देश आउँदिन भनेर अडान लिनुभयो । नाकावन्दी विरुद्ध चट्टानी अडान लिनुभयो । अन्तिममा हार खाएर भारतले नाकावन्दी हटाउन वाध्य भयो ।

संघर्षशील र जुझारु स्वभावका कारण केपी ओली युगनायक बन्नुभएको छ ।


1.9k
Shares

प्रतिक्रिया दिनुहोस !