२० मंसिर २०८२, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

अघि बढ्नुस् केपी ओली हामी तपाईंको साथमा छौं- गाेविन्द थापा

प्रकाशित मिति :  ५ भाद्र २०८२, बिहीबार १४:२२


काठमाडौं । एमाले केन्द्रीय सदस्य तथा राजनीतिक विश्लेषक गोविन्द थापाले आज लिपुलेक, कालापानी, लिम्पियाधुरा सम्बन्धी विषयमा एकदमै गम्भीर भएर एक भिडियो सन्देश आफ्ना सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्नुभएको छ।

उहाँले प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्र मन्त्री डा. आरजु देउवालाई धन्यवाद दिँदै उक्त भिडियो सार्वजनिक गर्नुभएको हो।
उहाँले सार्वजनिक गर्नुभएको भिडियो सन्देशमा यसो भन्नुभएको छ: – ‘आज म अति, अति नै महत्वपूर्ण विषयमा आफ्नो विचार राख्दैछु । विचार राख्नुभन्दा अघि म सबैभन्दा पहिले म भन्छु, धन्यवाद प्रधानमन्त्री केपी शर्मा ओली । धन्यवाद परराष्ट्र मन्त्री डा. आरजू देउवा । धन्यवाद वर्तमान सरकार । र, यो पनि भन्न चाहन्छु कि आजको विषम परिस्थितिमा म तपाईंहरुको पक्षमा उभिएको घोषणा गर्दछु । तन, मन, वचनले वर्तमान सरकारको पक्षमा उभिएको घोषणा गर्दछु ।

अब सारा नेपालीले फेरि पनि एक ढिक्का भएर वर्तमान सरकार तथा प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा उभिनपर्ने दिन आएको छ । सारा जनतालाई एकढिक्का भएर वर्तमान प्रधानमन्त्री तथा सरकारको पक्षमा उभिन अपिल गर्दछु ।

भारतले लिपुलेकमा अनाधिकृत रुपमा फेरि पनि दावी गरेको छ । भारतले यस्तो दावी गर्नासाथ हाम्रो सरकारले तत्कालै प्रतिवाद गरेको छ । ठाउँको ठाउँ जवाफ फर्काएको छ । आफ्नो स्वाभिमान, देशको अखण्डता, देशको गरिमामा अलिकति पनि आँच आउन दिएन हाम्रो सरकारले । नेपालको सार्वभौमिकतामाथि हमला हुँदा सरकारले जुन तदारुकताका साथ प्रतिवाद र प्रतिकार गरेको छ, त्यो प्रशंसनीय छ । त्यसैले मैले धन्यवाद भनेको हूँ ।

लिपुलेकमा भारतीय रवैयाको सरकारले जसरी ठाउँको ठाउँ प्रतिकार गरेको छ, त्यसका लागि स्याब्बास् केपी ओली, वाह आरजू देउवा भन्न चाहन्छु ।

लिपुलेकमा भारतले गरेको दावीमा चीन पनि गासिएर आएको छ । भारतको दावी र चीन गासिएको प्रसंगलाई नेपालले कसरी बुझ्ने ? कसरी लिने ? यसबारेमा म एकछिनपछि तथ्य सहित व्याख्या गर्नेछु । पहिले म अहिलेको प्रकरण के हो भन्ने मेरो बुझाई बताउँछु ।

चीनका विदेशमन्त्री वाङ यी हालै भारत भ्रमणमा जानुभएको थियो । भ्रमणका क्रममा भारत र चीन बीच विभिन्न सहमति भए । त्यस्तो सहमति मध्ये लिपुलेक भएर व्यापार गर्ने सहमति पनि गरियो । कालापानी लिपुलेक भूमि नेपालको हो । तथ्य प्रमाणले यही भन्छ । तर, सो भूमि विगत राजतन्त्र कालमा भारतलाई प्रयोग गर्न दिइयो । तत्कालीन राजा महेन्द्रले भारतलाई अनन्तकालका लागि भूमि दिएको होइन, प्रयोग गर्न मात्र दिएको देखिन्छ । ०४७ सालमा प्रजातन्त्र आएपछि राजनीतिक दलहरु, विशेष गरी नेकपा एमालेले त्यो भूमि नेपालको हो भनेर जोडदारसँग कुरा उठायो ।

गणतन्त्र आएपछि त्यो भूमि नेपालको हो भनी नेपालका सम्पूर्ण राजनीतिक दलहरुले एक ढिक्का भएर दावी गरे । केपी शर्मा ओलीको तत्कालीन सरकारले त्यो भूमि नेपालको मानचित्रमा समेट्न संविधान संशोधन विधेयक संसद्मा ल्यायो ।

संसद्मा भएका सम्पूर्ण पार्टीहरुले विधेयकलाई समर्थन गरेर अभूतपूर्व रुपमा पारित गरे ।

अहिले भारत र चीनले जे गरे, यस्तै काम सन् २०१५ मा पनि यस्तै गरेका थिए । त्यसबेला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी चीन जानुभएको थियो । त्यहाँ दुई देशबीच कालापानी लिपुलेक नाकाबाट दुई देशको व्यापार र आवागमन हुने सहमति भएको थियो । नेपालले त्यो भूमि आफ्नो भएको भन्दै प्रतिवाद गर्यो । दुवै देशलाई कूटनीतिक विरोध पत्र पनि पठायो ।

सन् २०२० मा भारतले आफ्नो देशको म्यापमा लिपुलेक सहित कालापानी र लिम्पियाधुरा पनि सामेल गर्यो । नेपालले तत्काल प्रतिवाद गर्यो । त्यसैको प्रतिक्रिया स्वरुप नेपालले त्यो भूभाग नेपालको म्यापमा राखेर संविधान संशोधन गरेको हो ।

अब यसमा चीनको भूमिकाको कुरा गरौं । नरेन्द्र मोदी सन् २०१५ मा चीन गएको बेला लिपुलेकबाट दुई देशबीच व्यापार हुने सहमतिको नेपालले कडा विरोध गर्दा चीनको प्रतिक्रिया के थियो भन्ने विचार गर्नुपर्ने हुन्छ । चीनले के भन्यो भने त्यो सहमति यात्रा र व्यापारसँग सम्बन्धित हो, नेपालको सार्वभौमिकतामा लक्षित छैन । भन्दै एमाले केन्द्रीय सदस्य तथा राजनीतिक विश्लेषक गोविन्द थापाले

चीनले नेपाल चीन सम्बन्ध ऐतिहासिक छ र चीनले नेपाललाई वेवास्ता गर्दैन भन्ने प्रतिक्रिया पनि दियो । थोरै बोल्ने चीनको त्यति प्रतिक्रिया पर्याप्त थियो । चीनले त्यति बोलेपछि उसले त्यो भूभागको सार्वभौमिकता नेपालकै हो भन्ने आशय दियो ।

अहिले फेरि उही भारत र चीन बीच सहमति भएको छ । त्यसबेला चीनका राष्टपति सी चिन फिङ र विदेश मन्त्री याङ यी हुनुहुन्थ्यो । तेतिवेला भारतमा प्रधानमन्त्री नेरेन्द्र मोदी नै हुनुहुन्थ्यो भने विदेश मन्त्री सुस्मा स्वराज हुनुहुन्थ्यो । त्यसबेला नेपालमा पनि एमाले र कांग्रेसको सरकार थियो, अहिले पनि एमाले र कांग्रेसको सरकार छ ।

अब के हुन्छ या अब नेपालले के गर्नुपर्छ भन्ने महत्वपूर्ण विषय हो ।

नेपालले यसरी नै कडा कूटनीतिक प्रतिवाद गरिरहनुपर्छ । समस्याको शान्तिपूर्ण समाधानमा जोड दिनुपर्छ ।
सबै राजनीतिक पार्टीहरुले भारतको यो रवैयाको कडा प्रतिवाद गर्नुपर्छ । सबै पार्टीले विज्ञप्ति निकालेर सरकारलाई साथ दिँदै प्रतिवाद गर्नुपर्छ । देशको आन्तरिक मामिलामा पार्टीहरुको विमति होलान्, फरक मत होलान् तर यो यस्तो विषय हो जसमा फरक मत नराखियोस् । होला, कसैलाई यो सरकार मन नपरेको होला, कसैलाई केपी ओली मन नपरेको होला, कसैलाई आरजू देउवा मन पर्दैन होला । कोही मन पर्नु या नपर्नु हाम्रो आन्तरिक मामिला हो तर लिपुलेकमा भारतको दावीमा सबै राजनीतिक पक्ष एक ढिक्का हुनुपर्छ भन्दै एमाले केन्द्रीय सदस्य तथा राजनीतिक विश्लेषक गोविन्द थापाले भन्नुहुन्छ प्रधानमन्त्री ओली केही दिनपछि चीनको र त्यसपछि भारतको भ्रमणमा जाँदै हुनहुन्छ । भ्रमणको क्रममा हुने भेटवार्तामा उहाँले यो कुरा जोडदारसँग उठाउनुपर्छ । कतिपयले केपी ओलीले सीमा विवादको कुरा उठाउनुहुन्छ कि हुन्न भनेर प्रश्न गरेको सुनिन्छ ।

जसले यस्तो प्रश्न गर्छ कि उसमा दुराग्रह छ, या उसले केपी ओलीको क्षमता र देशप्रेम चिनेको छैन । म ठोकुवा गरेर भन्छु, केपी ओलीले भ्रमणका क्रममा सीमा विवादको कुरा निर्धक्कसँग उठाउनुहुन्छ ।
के बुझौं भने केपी ओली भनेको केपी ओली हो । केपी ओली भनेको प्रचण्ड होइन । प्रचण्ड प्रधानमन्त्री पदमा रहेको बेला भारत भ्रमणमा जानुभयो । त्यहाँका प्रधानमन्त्री मोदीसँगको वार्तामा कुनै कुरा उठाउनुभएन । मिडियाले सोध्दा प्रचण्डले विवाद हुने कुनै कुरा नउठाएको बताउनुभयो । केपी ओली प्रचण्डजस्तो प्रधानमन्त्री हो र ? अहँ, होइन । प्रचण्डलाई कसैका लागि कम्फर्टेबल बन्नु थियो तर ओली देश र जनता बाहेक विदेशीका लागि कम्फर्टेबल बन्नुहुन्न । यो कुरा विगतले पुष्टि गरिसकेको छ । अब पनि प्रमाणित हुनेछ ।

विदेश भ्रमणमा जान लागेका प्रधानमन्त्रीलाई बलियो बनाएर पठाउनुपर्छ, कमजोर बनाएर होइन । यहाँ एकथरी मानिस यस्ता छन् जो विदेश भ्रमणमा जान लागेका प्रधानमन्त्रीलाई प्रहार गर्छन् । अब यो गल्ती कसैले गर्न हुँदैन । विदेश भ्रमणमा जान लाग्नुभएका प्रधानमन्त्री ओलीलाई सम्पूर्ण जनता र सम्पूर्ण पार्टीहरुले साथ र समर्थन दिएर पठाउनुपर्छ ।

केही दिन अघि मैले यस्तै एउटा भिडियोमा एउटा प्रसंगमा अबको विश्वमा अनुभवी नेता नभएको देशले दुःख पाउँछ भनेको थिएँ । अन्तराष्टिय राजनीतिक परिस्थिति र कूटनीति बुझेको परिपक्व नेता चाहिन्छ, नत्र आजको जटिल विश्व राजनीतिमा दुःख पाइन्छ भनेको थिएँ । अहिले हामीसँग अनुभवी र परिपक्व प्रधानमन्त्री हुनुहुन्छ । त्यसैले उहाँले देशहितको सवालमा खुट्टा कमाउनुहुन्न । देश हित विपरित गएर केपी ओली लम्पसार पर्नुहुन्न । यो निश्चित हो ।

अन्त्यमा म फेरि पनि भन्छु, धन्यवाद केपी ओली, स्याब्बास् केपी ओली । अघि बढ्नुस् केपी ओली, हामी तपाईंको साथमा छौं ।’ भनेर एमाले केन्द्रीय सदस्य तथा राजनीतिक विश्लेषक गोविन्द थापाले भन्नुभएको छ ।


11.2k
Shares

प्रतिक्रिया दिनुहोस !